चेतनाको थलो हुनुपर्ने क्याम्पसहरू रणमैदान बनेका छन् : डा.वाग्ले

हिमाल प्रेस ३ चैत २०८१ १३:१३ | Sunday, March 16, 2025
चेतनाको थलो हुनुपर्ने क्याम्पसहरू रणमैदान बनेका छन् : डा.वाग्ले रास्वपाका उपसभापति तथा सांसद डा‍.स्वर्णिम वाग्ले। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा‍.स्वर्णिम वाग्लेले हाल नेपालका विश्वविद्यालय र क्याम्पसहरूमा भइरहेको अशान्ति र राजनीतिक हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उनले केही हप्तादेखि देशभरका हजारभन्दा बढी क्याम्पसहरूमा तालाबन्दी, बन्द हड्ताल, कुटपिट, तोडफोड, चन्दा आतंक र गुटगत राजनीतिक प्रदर्शनका कारण शैक्षिक वातावरण ध्वस्त भएको बताएका छन्।

आजको प्रतिनिधिसभा बैठकमा धारणा व्यक्त गर्दै उनले विश्वविद्यालय तथा उच्चशिक्षा प्रणालीलाई क्षतविक्षत बनाउने गतिविधिहरू बढिरहेको र यो चिन्ताजनक रहेको बताए।

‘चेतनाको थलो हुनुपर्ने क्याम्पसहरू रणमैदान बनेका छन्। हाम्रा विश्वविद्यालयहरू स्वायत्त हुनुपर्ने होइन र?’ उनले प्रश्न गर्दै भने, ‘क्याम्पस प्रशासनले शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सक्ने चुनाव आज प्रतिष्ठाको लडाइँ र भिडन्तमा परिणत भएको छ, जुन निन्दनीय छ।’

उनको भनाइ अनुसार क्याम्पसहरूमा राजनीतिक दलहरूका कमाण्डर नै तोकेर कणकणमा राजनीतिकरण गरिएको छ जसका कारण शैक्षिक संस्थाहरू पार्टीगत स्वार्थको चपेटामा परेका छन्।

हाल देशभर विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनहरूबीचको झडप र तोडफोडका घटनाहरू बढ्दै गएका छन्। क्याम्पस प्रशासन तथा सुरक्षाकर्मीहरू यसलाई नियन्त्रण गर्न प्रयासरत रहे पनि परिस्थिति जटिल बन्दै गएको सांसद डा.वाग्लेले बताए।

प्रकाशित: ३ चैत २०८१ १३:१३ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast