
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारको कामको कडा आलोचना गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले सरकारलाई ‘विनाश काले विपरीत बुद्धि’ भन्दै टिप्पणी गरेका छन्।
उनले सरकारलाई कुशासनको दुश्चक्रमा परेको आरोप लगाउँदै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टीभित्रको तीव्र विरोध र गलत तत्वहरूले सडकमा अशान्ति फैलाइरहेको संवेदनशील समयमा सरकारले अर्को ‘दुस्कर्म’ को प्रयास गरेको जिकिर गरे।
कोइरालाले ‘पूर्वविशिष्टलाई आजीवन सुविधा’ दिने सरकारको तयारीलाई चौतर्फी विरोध भइरहेको बताउँदै यस्ता कामले व्यवस्था र पार्टीको हित नगर्ने चेतावनी दिए। उनले सरकारलाई यस्ता काम अघि नबढाउन र दिइएका सुविधाहरू घटाउन आग्रह गरेका छन्।
उनले लेखेका छन्,‘विनाश काले विपरीत बुद्धिः सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्वविशिष्टलाई आजीवन सुविधा। यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन। सरकार, यस्ता काम अघि नबढाउ बरु दिईएको सुविधा पनि घटाऊ।’