
काठमाडौँ- सुनसरीको इनरुवा नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ।
आज (मंगलबार) सुनसरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र-४ का सांसद ज्ञानेन्द्रबहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र सुनसरीको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।
कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो।
सो भवन ‘नेपाल(भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ४८ लाख ३० हजारको परियोजना लागतमा निर्माण गर्न लागिएको हो।
दुई तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग हुनेछ। यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रूपमा लिइएको र इनरुवा नगरपालिकामार्फत कार्यान्वयन गरिने काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ।
त्रिभुवन माध्यमिक विद्यालय सन् १९५८ मा स्थापना भएको हो। विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १२ तहसम्मका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयमा झण्डै ७५० विद्यार्थीको क्षमता छ, जसमध्ये ५५ प्रतिशत छात्राहरू रहेका छन्।
भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले सन् २००३ यता भारत सरकारले नेपालमा ५६३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनमा ल्याएको बताए। यी परियोजनाहरू नेपालका सबै प्रदेशहरूमा फैलिएको र कोशी प्रदेशमा मात्रै ९१ वटा परियोजना रहेको उनले जानकारी दिए।
साथै भारत सरकारले हालसम्म नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको दूतावासले जनाएको छ। कोशी प्रदेशमा १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिएको छ।
श्रीवास्तवले वर्षौंदेखि रहिआएको भारत-नेपाल विकास साझेदारीमा भएको वृद्धि, विस्तार र विविधीकरणप्रति खुसी व्यक्त गरे। उनले नेपाल सरकारको प्राथमिकताका आधारमा यो साझेदारीलाई थप सुदृढ पार्ने भारत सरकारको प्रतिबद्धता पनि व्यक्त गरे।