
काठमाडौँ- गृहमन्त्री रमेश लेखकले मुलुकमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन्। बिहीबार डडेल्धुराको पर्शुराम नगरपालिकामा आयोजित पर्शुराम साहित्य महोत्सव उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
लेखकले समाज र विज्ञानपछाडि नफर्किएजस्तै राजतन्त्र फर्किने सम्भावना नरहेको उल्लेख गरे।
‘देशमा गणतन्त्र आइसकेको छ, केही साथीहरूले राजतन्त्र पुनःस्थापनाको कुरा गरिरहनु भएको छ,’ उनले भने,‘लोकतान्त्रिक व्यवस्थामा अलोकतान्त्रिक राजतन्त्रमा पछाडि फर्किने सम्भावना छैन। निकै त्याग र तपस्याबाट यो ठाउँमा पुगिएको हो, अब यो ठाउँबाट पछाडि होइन, अगाडि बढ्ने हो।’
जनताको स्वतन्त्रताको कुनै विकल्प नरहेको बताउँदै गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै रहेको उल्लेख गरे।
उनले समाजमा क्रान्तिकारी परिवर्तनका लागि साहित्यको योगदान आवश्यक भएको बताए। संसकारमा प्रगति, क्रान्ति र परिवर्तनमा साहित्यको ठूलो योगदान रहेको उनको भनाइ थियो।