परराष्ट्रमन्त्री देउवा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता

हिमाल प्रेस १४ फागुन २०८१ १६:१६ | Wednesday, February 26, 2025
परराष्ट्रमन्त्री देउवा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रस‌ंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गरेकी छन्।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीयसत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री देउवाले बुधबार साइडलाइन भेटवार्ता गरेकी हुन्।

भेटका अवसरमा उनले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहिआएको बताइन्।

उनले नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै नागरिकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरेको जानकारी गराउँदै नेपाल सरकार लोकतान्त्रिक मूल्य मान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गरेकी थिइन्।

मन्त्री देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न संक्रमणकालीन न्यायसम्बन्धी कानुनको निर्माण गरेर नेपाल सरकार तदारुकताका साथ अघि बढेको जानकारी दिँदै संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गरिन्।

भेटमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मानवअधिकार तथा अन्तरराष्ट्रिय सन्धि सम्झौता महाशाखा प्रमुख राजेन्द्र थापालगायत उपस्थित थिए।

प्रकाशित: १४ फागुन २०८१ १६:१६ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast