नेपालमा दातृ निकायहरुको सहयोग कटौती हुने जोखिम बढ्यो : पाण्डे

हिमाल प्रेस १२ फागुन २०८१ १९:०९ | Monday, February 24, 2025
नेपालमा दातृ निकायहरुको सहयोग कटौती हुने जोखिम बढ्यो : पाण्डे नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे। फाइल तस्बिर।

नवलपरासी– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालमा अन्तरराष्ट्रिय दातृ निकायहरुको सहयोग कटौती हुने जोखिम बढेको बताएका छन्।

नेकपा एमाले प्रचार विभागले सोमबार कावासोतीमा गरेको भेटघाट कार्यक्रममा बोल्दै पाण्डेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय निर्णयहरूका कारण अमेरिकाबाट प्राप्त हुने सहयोगमात्रै नभई अन्य मित्र राष्ट्रबाट प्राप्त हुने अनुदानहरू समेत कटौतीको जोखिम बढेको बताए।

पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले ट्रम्पको निर्णयले यूएसएआईडी र एमसीसी परियोजनामा प्रत्यक्ष असर परेको उल्लेख गरे।

‘यूएसएआईडीको सहयोगमा भइरहेका काम रोकिने मात्रै होइन, एमसीसीको दायित्व नेपालले बहन गर्नुपर्ने अन्योलता सृजना भएको छ,’ उनले भने, ‘यदि एमसीसी पनि रोकियो भने ठेक्का त भइसक्यो, कि त हामीले ठेक्का अनुसारको भुक्तानी दिएर काम सम्पन्न गर्नुपर्‍यो, कि त ठेक्का रद्द गर्दा क्षतिपूर्ति व्यहोर्नुपर्‍यो।’

उपाध्यक्ष पाण्डेले भाषणमा भन्ने र कागजमा लेख्ने गरेर समाजवाद प्राप्त हुन नसक्ने बताउँदै उत्पादन र आर्थिक गतिविधिको माध्यमबाट मात्रै समाजवादको लक्ष्य प्राप्त हुने बताए।

प्रकाशित: १२ फागुन २०८१ १९:०९ | Monday, February 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast