
काठमाडौँ- भारतीय ब्याट्सम्यान विराट कोहली एक दिवसीय क्रिकेटको अन्तिम क्षणमा छन्।
टी २० फरम्याटको अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका उनी निकट भविष्यमै एक दिवसीय क्रिकेटबाट पनि संन्यास लिने तयारीमा छन्। तर, कोहलीको खेल प्रतिभा र कौशलतामा भने कति पनि फरक छैन। यसको एक उदाहरण हो, पाकिस्तानविरुद्ध दुवईमा उनले बनाएको शतक।
अरू कसैका लागि हुन्थ्यो भने त्यो क्षणमा शतक नहुन पनि सक्थ्यो। तर, विराटले भने शतकमा परिणत गरेरै छाडे। यति मात्र होइन, उनकै शतकमा भारतले पाकिस्तानमाथि सानदार जित निकाल्यो।
जितसँगै भारत सेमिफाइनल नजिक छ भने आयोजक पाकिस्तान प्रतियोगिताबाटै बाहिरिने सम्भावना छ। रोचक कुरा के हो, भने विराटलाई ४ रन चाहिँदा पाकिस्तानविरुद्ध लक्ष्य पूरा गर्न पनि २ रन नै बाँकी थियो। यसका लागि चौका प्रहार गर्नुको विकल्प विराटसँग थिएन। ४३ औँ ओभरको खेल चलिरहेको थियो।
बलिङका लागि खुसदिल साह आएका थिए। ४३ दशमलव ३ ओभरमा २ रन बाँकी रहदा विराटले शतक बनाउलान् वा नबनाउलान् अनिश्चित थियो। भारतीय टिममा पनि विराटको शतकलाई लिएर खटपट चलिरहेकै थियो। तर, उनले खुसदिलको तेस्रो बललाई सिधा घुमाइदिएर बाउन्ड्रीमा परिणत गरे। अनि उनको स्कोरमा १०० रन लेखियो। यति मात्र होइन, विराटले पाकिस्तानसँगको खेलमा अर्को कोशेढुंगा पनि पूरा गरे। एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १४ हजार रन पूरा गर्ने ब्याटर बनेका छन्।
आईसीसी च्याम्पियनसिप २०२५ अन्तर्गत आइतबार पाकिस्तानविरूद्धको खेलमा कोहलीले यो कीर्तिमान बनाएका हुन्। उनको यो २९९ औँ म्याच हो। यो रन उनले २८७ इनिङमा पूरा गरेका हुन्। कोहलीले यो रन ५७.८६ औसत र ९३.४४ को स्ट्राइक रेटले बनाएका छन्।
भारतविरुद्ध ‘कमजोर’ पाकिस्तान
पाकिस्तानले भने यो हारसँगै लगातार दुई खेलमा पराजित बनेको छ। यता भारत समेत सेमिफाइनल नजिक पुगेको छ। पाकिस्तानलाई भारतले ६ विकेटले पराजित गरेको हो। पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
विराटले तेस्रो विकेटका लागि श्रेयश अय्यरसँग मिलेर १ सय १४ रनको साझेदारी गरे। अय्यरले ६७ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५६ रन जोडे।
शुभमन गिल ४६ तथा कप्तान रोहित शर्मा २० रनमा आउट भए। पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ तथा अबरार अहमद र खुसदिल साहले समान १ विकेट लिए ।
त्यसअघि यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २४१ रनमा समेटियो।
पाकिस्तानका लागि सउद सकिलले सर्वाधिक ६२ रन जोडे । उनले ७६ बलमा ५ चौका प्रहार गरे। सकिलले तेस्रो विकेटका लागि कप्तान मोहम्मद रिजवानसँग १ सय ४ रनको साझेदारी गरे । कप्तान रिजवानले ७७ बलमा ३ चौकाको सहयोगमा ४६ रन जोडे ।
खुसदिल साह ३९ बलमा ३८ तथा ओपनर बाबर अजाम २३ रनमा आउट भए। अर्का ओपनर इमाम उल हक १० तथा नसिम साह १४ रनमा आउट भए। शाहिन शाह अफ्रिदी रनको खाता नखोल्दै आउट हुँदा हरिस रउफले ८ रन जोडे।
पाकिस्तानले १५१ रनमा २ विकेट गुमाएकोमा ९० रन जोड्दा बाँकी रहेको ८ विकेट गुमाएको थियो । पछिल्लो ५ ओभरमा पाकिस्तानले ३३ रन जोड्दा ३ विकेट गुमायो ।
भारतका लागि कुलदिप यादवले ३, हार्दिक पाण्ड्याले २ तथा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले समान १ विकेट लिए । जितसँगै भारत दुई खेलमा अपराजित रहँदै ४ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ । पाकिस्तान २ खेलमा अंकबिहीन रहँदै समूह ‘ए’ को पुछारमा छ ।