 
                             
                                            लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनीमा फागुन दोस्रो हप्तादेखि दुई ठूला कार्यक्रम हुने भएको छ। प्रत्येक वर्ष हुने कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) कार्यक्रम र चौथौ लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह हुने भएको हो।
अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ र लुम्बिनी विकास कोषको संयुक्त आयोजना फागनु १४ गतेदेखि चैत ३ गतेसम्म ५ सय जनाको वृहत् श्रामणेर कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) हुनेछ।
यसैगरी अखिल नेपाल भिक्षु महासंघको आयोजनामा फागुन २० देखि २५ गतेसम्म चौथो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह हुनेछ।
त्रिपिटक वाचन समारोहमा महास्थवीर, भिक्षु भिक्षुणी, उपासक–उपासिका सहित अल्पकालीन श्रामणेरहरुको सहभागीता रहनेछ। फागनु २१ गते औपचारीक उद्घाटन गरी शुरु हुने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठमा सुत्रपिटक, विनयपिटक, अभिधर्मपिटकको देशना गरिने आयोजकले जनाएका छन्।
गत वर्षमा जस्तै फागुन महिनामा हुने ठूला दुई कार्यक्रम हुन लागेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। उनले फागुन १४ देखि चैत ३ गतेसम्म हुने कार्यक्रमबाट बुद्धका उपदेशहरुलाई व्यवहारिक रुपमा ग्रहण गर्न पाउने भएकाले यसबाट लाभ लिन आग्रह गरे।
यसैगरी फागुन १४ गतेसम्म अल्पकालीन भिक्षु बन्न चाहनेहरुले नाम दर्ता गराउन सक्ने अखिल नेपाल भिक्षु महासंघले जनाएको छ। भिक्षु तेछावरले ५ सय जनाको प्रवज्या कुलपुत्रको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
भगवान बुद्धको शिक्षा अनुशरण गर्ने पवित्र प्रवज्यामा सहभागी भएर लाभ लिन समेत विशेष गरी स्थानीयहरुलाई भिक्षु तेछावरको आग्रह छ।
विशेष गरी बुद्धका उपदेशलाई व्यवहारमा पालना गर्नका लागि प्रवज्या कुलपुत्र कार्यक्रम राख्ने गरिएको हो। फागनु २० गते मंगलबार लुम्बिनीमा प्रवज्या गराइनेछ। त्यसपछि फागनु २२ गते लुम्बिनी हलमा भिक्षटन, फागुन २४ गते दीप प्रज्जवलन, चैत २ गते देवदह, बुटवल, रामग्रामसम्म धम्मयात्रा गराई चैत ३ गते प्रमाणपत्र वितरण गरी समापन गर्ने गरी कार्यतालिका बनाइएको छ।
प्रमाणपत्र वितरणपछि चैत ४ र ५ गते विभिन्न नगरमा भिक्षाटन गराइने आयोजकले जनाएका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 