 
                             
                                            काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनको मतपरिणाम आजै आउने भएको छ। केन्द्रीय अध्यक्षसहितका ६९ उम्मेदवारको छनौटका लागि मंगलबार साँझ ७ बजेबाट सुरु भएको मतदान राति १ बजे सकिएको थियो।
नेता कृष्ण शर्माले ७० प्रतिशत मत खसेको जानकारी दिँदै मतगणना सकेर आजै मतपरिणाम आउने जानकारी दिए। उनले भने, ‘निर्वाचन समितिले आजै मतपरिणाम सार्वजनिक गर्नेगरी मतगणना सुरु गरेको छ।’
अध्यक्षमा डा.बाबुराम भट्टराई र युवा नेता नेत्र चापागाईँ उम्मेदवार बनेका थिए। पार्टीको विधानमा ११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यको व्यवस्था छ।
महाधिवेशनबाट केन्द्रीय पदाधिकारीसहित २१ जना निर्विरोध निर्वाचित भइसकेका छन्। जसमा उपाध्यक्ष (महिला) : मानुषी यमि भट्टराई, उपाध्यक्ष (दलित) : दुर्गा सोब र कोशी प्रदेश केन्द्रीय सदस्य (खुला) : मणि राई, कोशी प्रदेश केन्द्रीय सदस्य (महिला) : तारा बास्तोला दवाडी, मधेश प्रदेश केन्द्रीय सदस्य (महिला) : बिबि समिना खातुन, बागमती प्रदेश केन्द्रीय सदस्य (महिला) : बसुन्धरा साप्कोटा, गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुला) : चित्र सापकोटा, गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) : नारायणी अधिकारी, लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुला) : कमल खनाल, लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) : सुनिता काफ्ले, कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुला) : लक्ष्मीप्रसाद भट्टराई, कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) : मीराकुमारी मल्ल, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुला) : रतनबहादुर टमटा, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) : सत्यदेवी चापागाईं र भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुला) : लोकेन्द्रबहादुर सुनार छन्।
त्यस्तै केन्द्रीय सदस्यमा खुला युवा महिला : निशा श्रेष्ठ, आदिवासी जनजाति युवा महिला : मञ्जुमाया तामाङ, मधेशी महिला : अमृताकुमारी देवी, दलित केन्द्रीय सदस्य युवा : हिक्मत विक,थारु महिला : गीता थनेत र थारु युवा : लक्षीराम चौधरी निर्विरोध निर्वाचित भए। निर्विरोध निर्वाचित हुने पदाधिकारी, केन्द्र तथा प्रदेश सदस्यको नाम आउनेक्रम जारी छ।
अध्यक्षका उम्मेदवार डा.भट्टराईले झन्डै पाँच दशकको राजनीतिक तथा पार्टी जीवनमा पहिलोपटक आफू सम्बद्ध पार्टीको आन्तरिक निर्वाचनमा सहभागी हुँदा असीम हर्ष र गर्वको अनुभूति भएको प्रतिक्रिया जनाएका छन्।
उनले मंगलबार साँझ सामाजिक सञ्जालमा भने,‘हालै सम्पन्न नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशनद्वारा पारित युगीन महत्त्वको राजनीतिक तथा संगठनात्मक प्रस्ताव र नेतृत्व चयनमा अपनाइएको उन्नत प्रकृतिको समानुपातिकतासहितको प्रत्यक्ष निर्वाचन प्रणालीले नेपाली राजनीतिको पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास।’
महाधिवेशनले डा.भट्टराईको ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकको प्रतिवेदन पार्टीमा समृद्धिको अभियान चलाउन सुझावसहित सर्वसम्मत पारित गरेको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 