काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार सुरु भएको छ। महाधिवेशन नेसपा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले बिरुवामा पानी हालेर उद्घाटन गरे।
महाधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्याल, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष डा.सीके राउत, विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटा, नागरिक समाजका अगुवालगायतका व्यक्तिहरू अतिथि थिए।
अर्याल, चौधरी, राउत, बास्कोटाले मुलुकमा वैकल्पिक शक्तिको आवश्यकता र औचित्यमाथि बोल्दै वैकल्पिक शक्तिहरूले कार्यगत एकता गर्दै ध्रुवीकरण गर्नुपर्ने बताएका थिए। नेसपा नयाँ शक्ति संयोजक डा. भट्टराईले नेपालमा वैकल्पिक शक्ति आवश्यकतामाथि प्रकाश पारे र पुराना राजनीतिक शक्तिहरूबाट विकास हुन नसक्ने बताए।
मंगलबार समापन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। महाविधेशनमा उपस्थित १६ सय प्रतिनिधिले पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिव, केन्द्रीय सदस्यहरूको प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चयन गर्ने प्रवक्ता कृष्ण शर्माले बताए।