पोखरा– २४ औँ आहारारा पोखरा गोल्डकपमा १८ पेनाल्टीपछि बल्ल नतिजा निस्केको छ।
पोखरा रंगशालामा बिहीबार चर्च ब्वाइज युनाइटेड क्लबले एनआरटीलाई ‘सडन डेथ’ को शिकार बनाउँदा दुवैतर्फ कुल १८ पेनाल्टी प्रहार हुन गएको थियो।
निर्धारित समयमा गोल गरेर अग्रता दिएको एनआरटी अन्ततः पेनाल्टी सुटआउटमा भने ६–५ गोलअन्तरले पराजित भयो।
पेनाल्टीमा चर्च ब्वाइजका कीपर टिकेन्द्र थापा नायक बने। उनले ३ पेनाल्टी रोकेका थिए। उनी म्यान अफ दि म्याचसमेत घोषित भए।
यो जितसँगै चर्च ब्वाइजले अब साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लबसँग २८ माघमा तेस्रो क्वाटरफाइनल खेल्नेछ।
निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फबाट एक–एक गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा गोल नभएपछि अन्ततः टाइब्रेकरमा धकेलिएको हो।
खेलको २५ औँ मिनेटमा एनआरटीका लागि रिचर्ड विल्सनले गोल गर्दै अग्रता दिलाएका थिए। ६४ औँ मिनेटमा चर्च ब्वाइजले बराबरी खेल्यो। नवीन लामाले पेनाल्टी प्रहार सदुपयोग गर्दै गोल गरेका हुन्। उनैले पेनाल्टी सुटआउटमा थप २ गोल गर्न सके।
शुक्रबारको खेल भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र संकटा क्लबबीच हुनेछ।
गत २२ माघदेखि सुरु प्रतियोगितामा यसअघि नेपाल पुलिस क्लब र मच्छिन्द्र क्वाटरफाइनल प्रवेश गरिसकेका छन्।
३ फागुनमा हुने प्रतियोगितामा १२ टिमले भाग लिएका छन्। विजेताले १२ लाख र उपविजेताले ६ लाख नगद प्राप्त गर्ने क्लब अध्यक्ष केशवराज बरालले बताए।