![नेसपा नयाँ शक्तिमा प्रवासबाट नेतृत्व खोजिरहेका प्रकाश](https://himalpress.com/wp-content/uploads/2025/02/Prakash-kc.jpeg)
काठमाडौँ- २०६० सालमा नेकपा माओवादीको जनयुद्ध उत्कर्षमा थियो। देश आन्तरिक द्वन्द्वले अशान्त थियो। त्यसैले २०६२/६३ को जनआन्दोलनको वातावरण बनायो। यसै पृष्ठभूमिमा बाग्लुङ बिनामारेका युवक प्रकाश केसीको राजनीतिमा प्रवेश हुन्छ।
०४५ साल जेठ १२ मा जन्मिएका केसीले बालकालमा बाल क्लबको निर्माण र नेतृत्व गर्थे। त्यसले उनलाई क्षमता विकासमा सहयाेग पुर्याउँथ्याे। तत्कालीन परिवेशकाे अन्धकारमय राजनीतिलाई प्रकाश छर्न उनी राजनीतिमा हाेमिए। त्यतिबेलासम्म उनी बुटवल बहुमुखी क्याम्पसको विद्यार्थी नेता भइसकेका थिए। क्रमश: प्रकाशलाई राजनीतिक हावाले छुँदै गयो। उनी लोकतन्त्र प्राप्तिको २०६२/६३ को जन आन्दोलनमा सक्रिय भए। सो क्रममा आफू पटकपटक प्रहरी हिरासतमा पुगेको उनी बताउँछन्।
जनआन्दोलनपछि लोकतन्त्र, गणतन्त्र र नयाँ संविधान निर्माणकालसम्म प्रकाश नेकपा माओवादीमै रहे। माओवादी नेताकार्यकर्ताका विचार, दृष्टिकोण, कार्यशैली चित्त नबुझेर केसी बाहिए। उनले भने, ‘सक्रियतापूर्वक काम गरिरहेको थिएँ। त्यहाँका गतिविधि, नेताकार्यकर्ताका व्यवहार, उनीहरूसँग बसेर गर्ने छलफलहरू कतै न कतै मलाई मन परेको थिएन। देश, समाज रुपान्तरणको कुरा गर्ने भन्दा पनि व्यक्तिगत स्वार्थका कुरा बढी हुन थाले। सदाचार, सुशासनका कुरा भएको पाइनँ र केही वर्ष स्वतन्त्र बसेँ।’ राजनीतिको लत लागिसकेको प्रकाश यत्तिकै बस्न सकेनन्। २०७३ साल जेठ ३० मा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ‘नयाँ शक्ति नेपाल’ पार्टी निर्माण गरेपछि केसी बाबुरामको विचार र एजेन्डामा जोडिए। उनी पार्टीको संस्थापक सदस्य पनि भए।
त्यसपछि केसी नयाँ शक्ति विद्यार्थी युनियनको बागलुङ जिल्ला संयोजक हुँदै केन्द्रीय सचिवालय सदस्यसम्म भए। उनीमा राजनीतिक परिपक्वता बढ्दै गयो। २०७४ को स्थानीय तह चुनावमा उनलाई पार्टीले जैमिनी नगरपालिकाको मेयरको उम्मेदवार बनायो। नतिजा पक्षमा नआए पनि उनले उम्मेदवारको अभुवन लिए।
जिल्लामै बसेर सांगठनिक गतिविधिमा लाग्दालाग्दै केसी जापान उडे। जापानमा पनि केसी विभिन्न संघसंगठनको नेतृत्वमा बसे। अन्तर्राष्ट्रिय नेपाली समाज जापानको महासचिव हुँदै हाल अध्यक्ष छन् उनी। यतिबेला प्रकाश नेसपा नयाँ शक्तिको प्रवास प्रदेश कमिटीको सहसचिव साथै राष्ट्रिय महाधिवेशन आयोगक समिति सदस्य छन्।
यही माघ २७–२९ गते काठमाडौँमा हुने नेसपा नयाँ शक्तिको प्रथम महाधिवेशनमा प्रकाश केन्द्रीय सदस्य आकांक्षी छन्। केन्द्रीय सदस्य भएर पार्टी निर्माणमा योगदान गर्ने उनको लक्ष्य छ। सोही कारण आफूलाई केन्द्रीय सदस्यमा मतदान गर्न महाधिवेशन प्रतिनिधिसँग उनको आग्रह छ।
केसी भन्छन्,‘नयाँ शक्तिले नै जनताको आकांक्षा पूरा गर्न सक्छ। नयाँ शक्तिलाई मुलुकको वैकल्पिक पार्टी बनाउनुपर्छ, नेपाललाई विकास र समृद्धिको चरणमा लैजानुपर्छ भन्ने बाहेक मेरो अरू कुनै स्वार्थ छैन। देश, विदेशमा जहाँ भए पनि पार्टीमा निरन्तर क्रियाशील छु। पार्टी निर्माणमा सुरुवाती दिनदेखि लागेको छु। केन्द्रीय समिति सदस्यमार्फत अझ यो पार्टीलाई उचाईमा पुर्याउन सक्छु। कटिबद्ध छु। त्यसैले म केन्द्रीय सदस्यको उम्मेदवार भएको छु। एउटा युवा विदेशबाट देशको चिन्ता गरेर, देशमा केही गर्छु भनेर आएको छ। महाधिवेशन प्रतिनिधिहरूले यसलाई स्वागत, सहयोग, समर्थन, मतदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। पार्टी बनाउने मेरो अभियानलाई साथ दिई मत दिनु हुन अपिल गर्न चाहन्छु।’
रोजगारीकै सिलसिलामा लाखौं नेपाली विदेशमा छन्। प्रवासमा बस्ने नेपालीलाई देशको राजनीतिमा चासो र चिन्ता पनि उत्तिकै हुन्छ। अवसर पाए फर्किएर देशकै सेवा गर्ने उनीहरूको चाहना छ। प्रकाश भन्छन्,‘विदेशमा बसेर व्यक्ति धनी हुन सक्छ। तर व्यक्ति धनी भएर हुँदैन। देश धनी नभए जनताको इज्जत, प्रतिष्ठा हुँदैन। प्रवासमा रहेका नेपालीहरूलाई ‘हररात सपनीमा ऐँठन हुन्छ…’ हुन् भनेझैँ देशको चिन्ताले ऐँठन हुन्छ। देशलाई समृद्धिमा लैजान योगदान गर्न सकूँ भन्ने हुन्छ। देशमा आउने वातावरण बनोस्। विदेशमा रहेका लाखौं नेपालीलाई चुनावमा मतदान गर्ने अधिकार र व्यवस्था राज्यले गराेस्। हामी आफ्नो प्रतिनिधि आफैँ छान्छाैं।’
‘एक पटकको नेपाली सधैँको नेपाली’ नारालाई राज्यले कार्यान्वयन गर्दा लाखौँ नेपाली स्वदेश फर्किने केसी बताउँछन्। परदेशबाट हेर्दा राज्यले आफ्ना नागरिक नखोजेकोजस्तो लाग्छ प्रकाशलाई। भर्खरै विदेश गएका नेपालीले दु:ख पाउँदा दूतावास टुलुटुलु हेरेर बस्ने गरेगरेको अनुभव पनि प्रकाशसँग छ। उनी भन्छन्, ‘प्रदेशबाट हेर्दा राज्यले आफ्नो नागरिकलाई नखोजेजस्तो लाग्छ। परदेशमा भर्खरै गएको एउटा नेपालीको मृत्यु हुन्छ भने राज्यले कहिल्यै पनि सोधीखोजी गरेको पाएका छैनौं। यसले हामीलाई अत्यन्तै पीडा हुन्छ। प्रवासी नेपालीका अनेकौं समस्या छन्। यस्ता समस्या समाधान गर्न हाम्रा पाइला राजनीतिमा बढेको हो। संसारभर रहेका नेपालीलाई एकजुट गराएर राष्ट्र निर्माणमा योगदान गर्न चाहन्छौं।’
![](https://himalpress.com/wp-content/uploads/2025/02/prakash-kc-2.jpeg)