आहारारा गोल्डकपमा आयोजक पहिलो खेलमै पराजित

हिमाल प्रेस २२ माघ २०८१ २०:५१
16
SHARES
आहारारा गोल्डकपमा आयोजक पहिलो खेलमै पराजित

पोखरा-  २४औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहारा क्लब पोखराको टिम पहिलो खेलमै पराजित भएको छ। नेपाल पुलिस क्लबले आयोजकलाई १-० गोलअन्तरले पराजित गर्दा घरेलु टोली स्तब्ध बन्यो।

विभागीय टिम नेपाल पुलिसका उज्ज्वल राईले खेलको ३७ औं मिनेटमा गरेको गोल नै निर्णायक साविक पुगेको थियो। उनले प्रहार गरेको कर्नर किक दोस्रो बार च्याप्दै उत्कृष्ट गोलमा परिणत भएको हो।

प्रतियोगितामा राई नै म्यान अफ दी म्याच घोषित भए। सहारा विदेशी तीन खेलाडी समेतलाई लिएर मैदान उत्रिएकोमा सुरुआतकै केही अवसर खेर फालेको थियो। पाँचौं मिनेटमा बिलियम सेगेननको फ्लिक विपक्षी किपर शत्रूधन चौधरीले बचाऊ गरेका थिए।

१२ औं मिनेटमा क्याप्टेन सुशील लामाको प्रहारसमेत चौधरीले बचाएका थिए। २३ औँ मिनेटमा सन्तबहादुर गुरुङको क्रसबारबाट बाहिरिन पुगेको थियो। पुलिसले अब युकेको ब्रिगेड ब्वाइज क्लबसँग पहिलो क्वार्टरफाइनल खेल्नेछ। बुधबार विभागीय क्लब एपीएफ र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए।

माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा हुने सो प्रतियोगितामा १२ टिमले भाग लिएका छन्। विजेताले १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्ने क्लब अध्यक्ष केशवराज बरालले बताए।

फुटबल प्रतियोगिता अवसर पारेर बेलायतबाट सहारा क्लब युके, तमु धि यूकेका करिब ५० जना प्रतिनिधि पोखरा आइसकेका छन्। अरू आउने क्रममा रहेको सहारा युके अध्यक्ष कृष्णबहादुर गुरूङले बताए।

प्रतियोगिताको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले पोखरा पर्यटनको राजधानी मात्र नभई खेलकुदको सहर पनि भएको बताए। आहारारा पोखराको समेत चिनारी भएकाले पछिल्लो समय पोखरा महानगरपालिकाले संरक्षकत्व प्रदान गरेको जनाए। पोखरासँग विभिन्न राष्ट्रका १४ सहरमा भगिनी सम्बन्ध कायम भएकाले आगामी वर्षदेखि आहारारामा त्यहाँबाट पनि पाहुना बोलाउने बताए।

उद्घाटन अवसरमा यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट सनिष श्रेष्ठ सम्मानित भए। उनलाई नगद ५० हजार ५५५ रुपैयाँ र सम्मानपत्रसहित मेयर आचार्यले सम्मान गरे।

नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत क्लबले बर्सेनि एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ। यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन्।

प्रकाशित: २२ माघ २०८१ २०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast