पोखरा- पोखरामा २४ औँ आहा रारा पोखरा गोल्डकप सुरु भएको छ। सहारा क्लब पोखराको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन पोखराका मेयर धनराज आचार्यले गरेका हुन्।
उनले पोखरा पर्यटनको राजधानी मात्र नभई खेलकुदको सहर पनि भएको बताए। आहारारा पोखराको समेत चिनारी भएकाले पछिल्लो समय पोखरा महानगरपालिकाले संरक्षकत्व प्रदान गरेको जनाए। पोखरासँग विभिन्न राष्ट्रका १४ सहरमा भगिनी सम्बन्ध कायम भएकाले आगामी वर्षदेखि आहारारामा त्यहाँबाट पनि पाहुना बोलाउने बताए।
उद्घाटन अवसरमा यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट सनिष श्रेष्ठ सम्मानित भएका छन्। पुरस्कार राशि नगद ५० हजार ५५५ रुपैयाँ र सम्मानपत्र रहेको छ। उक्त पुरस्कारबापतको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गर्दै आएका छन्। तनहुँको भानु नगरपालिका पुर्कोटका सनिष श्रेष्ठ विगत ७ वर्षदेखि फुटबल खेलिरहेका छन्। नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत क्लबले बर्सेनि एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ। यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन्।
ब्रिगेड अफ गोर्खा ब्यान्डले रंगशालामा ब्यान्ड प्रस्तुत गरेको छ। माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा हुने सो प्रतियोगितामा १२ टिमले भाग लिएका छन्। विजेताले १२ लाख प्राप्त गर्ने क्लब अध्यक्ष केशवराज बरालले बताए।
फुटबल प्रतियोगिता अवसर पारेर बेलायतबाट सहारा क्लब यूके, तमु धि युकेका करिब ५० जना प्रतिनिधि पोखरा आइसकेका छन्। अरू आउने क्रममा रहेको सहारा यूके अध्यक्ष कृष्णबहादुर गुरुङले बताए।
यो प्रतियोगिता नेपालमै लामो समयसम्म निरन्तर भइरहेको एकमात्र फुटबल प्रतियोगिता हो। क्लबले यसबाट बचत रकम फुटबल एकेडेमीमा खर्चिँदै आएको छ। एकेडेमीमा ३० जना अनाथ बालक आश्रित छन्। प्रतियोगिताको पहिलो खेल सहारा क्बल र नेपाल पुलिस क्लबबीच भएको छ।