काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले उपचारात्मकसँगै निदानात्मक सेवालाई पनि सञ्चालन गर्ने तयारी गरिरहेको बताएका छन्।
स्वास्थ्य पत्रकार मञ्च, नेपालको नवनिर्वाचित कार्यसमितिलाई आइतबार मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै मन्त्री पौडेलले रोग लाग्नबाट बच्ने उपायबारे जानकारी दिन निदानात्मक सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए।
‘सरकारले रोग लागेका बिरामीलाई उपचारात्मक सेवा प्रदान गरिरहेको छ,’ उनले भने, ‘तर रोग लाग्नुभन्दा अगाडि पनि सचेतना कार्यक्रम सञ्चालन गर्न निदानात्मक सेवा आवश्यक छ।’
मन्त्री पौडेलले बिरामी नागरिकको उपचार गर्नुपर्ने दायित्व सरकारको भए पनि अब निदानात्मक कार्यक्रममा जोड नदिए उपचार सेवा पूर्ण ढंगले पुर्याउन सक्ने अवस्था नरहने बताए।
‘सरकारले उपचारात्मक क्षेत्रमा बढी काम गरिरहेको छ, तथापि पर्याप्त भने छैन। तर उपचारात्मकको तुलनामा निदानात्मक क्षेत्रमा काम हुन सकेको छैन। त्यही कारण बिरामीको संख्या बढ्दै गएको छ। निदानात्मक सेवामा काम गर्न सके बिरामीको संख्यामा कमी आउँछ,’ मन्त्री पौडेलले भने।
सरकारले तोकेका पाँच तहका अस्पतालमा एउटा तहलाई निदानात्मक केन्द्रका रुपमा विकास गर्ने मन्त्रालयको लक्ष्य रहेको उनले जानकारी दिए। पछिल्लो समय शारीरिक बिरामीभन्दा पनि मानसिक बिरामी बढ्दै गएको उल्लेख गर्दै उनले त्यसलाई रोक्न सचेतना अभिवृद्धि गर्नुपर्ने बताए।
मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्य पत्रकारसँग मन्त्रालयले सहकार्य गरेर अगाडि बढ्ने बताए। मञ्चका अध्यक्ष भिसा काफ्लेले स्वास्थ्य पत्रकारको वृत्ति विकासका लागि मन्त्रालयको सहयोगको खाँचो औँल्याए।