
काठमाडौँ- संसदीय सुनुवाइ समितिले न्यायपरिषद्को सदस्यमा सिफारिस दामोदर खड्काको नाम सर्वसम्मतले अनुमोदन गरेको छ। आज (आइतबार) सिंहदरबारमा बसेको बैठकले खड्काको संसदीय सुनुवाइ गर्दै सर्वसम्मतिले उनको नाम अनुमोदन गरेको हो।
न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सिफारिस भएका खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको समिति सभापति इश्वरीदेवी न्यौपानेले जानकारी दिए।
त्यसअघि बैठकमा संसदीय सुनुवाइका क्रममा प्रस्तावित न्यायपरिषद् सदस्य खड्काले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै न्यायपालिकाको छवि अभिवृद्धि गर्ने र न्यायालयको सुधार एवं गरिमा कायम प्रतिबद्धता जनाए। संविधान र कानुनप्रति आस्था राख्दै स्वतन्त्र पूर्वक काम गर्ने उनले बताए। उनले न्यायाधीश नियुक्तिको लागि सिफारिस गर्दा स्थापित सिफारिसका आधारलाई पारदर्शी बनाउने प्रयास रहने उल्लेख गरे।
पौष २७ गते बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई रिक्त न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो।