काठमाडौँ- महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको तेस्रो खेल पनि नेपालले गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको हो।
शृंखलामा नेदरल्यान्ड्ससँग नेपालको यो दोस्रो हार हो। शनिबार सम्पन्न खेलमा नेपाललाई थाइल्यान्डले पराजित गरेको थियो।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रनमात्रै बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा नेपालका लागि कप्तान इन्दू वर्माले सर्वाधिक ३० रन बनाइन्। ओपनिङका लागि आएकी सम्झना खड्काले २३ र ममता चौधरीले ७ रन बनाइन्।
त्यस्तै पुजा महतोले १८, कविता जोशीले १४ रन बनाउँदा रुबिना क्षेत्री र विन्दू रावल शून्य रनमा आउट भइन्। सीताराना मगरले १०, अलिसा यादव ५ र रेवती धामीले २ रन बनाइन्।
नेदरल्यान्ड्सका लागि इरिस विलिङ, क्रोलिन डी लिङ र हिदर सिजरसले २–२ विकेट लिइन्।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रनको योगफल खडा गरेको थियो।
नेदरल्यान्ड्सका लागि कप्तान बाबेटे डी लिडीले सर्वाधिक ४१ रन बनाएकी थिइन्। त्यस्तै फेबे मोलक्नेबोरले २१ , रोविनी रिज्केले २१ र हिदर सिजर्सले २६ रन बनाएकी थिइन्।
नेपालका लागि सीताराना मगरले पाँच विकेट लिइन्। त्यस्तै मनिषा उपाध्यायले २ र कविता जोशी तथा इन्दू वर्माले १–१ विकेट लिइन्।