काठमाडौँ- नाट्य अभिनयमा डेढ दशक बिताएका कलाकार कृष्णप्रसाद धिताल यही २५ माघबाट प्रदर्शन हुने फिल्म ‘जुनाः एक व्यथा’ मार्फत फिल्ममा डेब्यू गर्दैछन्। धिताल फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको पति बिर्खलालको भूमिकामा छन्। उनी डेब्यू फिल्मबाट आशावादी रहेको बताउँछन्।
रत्नपार्कमा परिवार नियोजनसम्बन्धी सडक नाटक गर्ने क्रममा आफूले ‘जुना’ मा अभिनयको अवसर पाएको उनले बताए। ‘मैलै रत्नपार्कमा सडक नाटक देखाइरहँदा निर्देशक जीवन सेञ्चुरीले त्यो नाटक हेरिरहनु भएको रहेछ। उहाँले मेरो अभिनय मन पराउनु भएछ। फिल्ममा प्रस्ताव गर्नुभयो’, कृष्णले भने।
फिल्मको कथाजस्तै विषयमा सडक नाटक गरिरहेकोले फिल्म खेल्न इच्छुक भएको उनले बताए। ‘हामीले केही वर्षदेखि यस्तै सामाजिक विषयमा नाटक गरिरहेका थियौँ। बाल विवाह, लैंगिक हिंसा, लागु औषधका व्यथा नाटकमा हुन्थे। धेरै नाटक बाल विवाहसँग सम्बन्धित नै थिए। हामीले समाज सुधारका लागि नाटकलाई माध्यम बनाइरहेका थियौँ। त्यसमाथि फिल्ममा नै अभिनय गर्नुपर्ने प्रस्ताव र कथा पनि मिल्ने भएकाले फिल्मले अझ बोल्ड किसिमले समाजमा सन्देश प्रवाह गर्न सक्छ भन्ने लाग्यो’, उनी भन्छन्।
नाट्ययात्रामा कृष्णले अधिकांश समय गाउँमै बिताए। आफ्नो नाटक समूह आवाज आर्ट क्रियसनमार्फत सडक नाटक लिएर उनी नेपालका ग्रामीण भेगमा पुग्थे। नाटकको अभिनयले फिल्ममा आफ्नो चरित्र निभाउन सजिलो भएको उनको अनुभव छ।
‘हामीले मञ्चन गरेका अधिकांश नाटक बाल विवाह, अनमेल विवाह, महिला हिंसासँग सम्बन्धित नै थिए। फिल्ममा सुरुवातका दिनमा काम गर्न केही असहज भए पनि विस्तारै सहज बन्यो’, कृष्णले भने।
नाटक र केही टेलिसिरियलमा पनि अभिनय गरेता पनि फिल्ममा पहिलोपटक अभिनय गरेकाले आफूलाई केही चुनौती महसुस भएको उनी बताउँछन्।
‘सिरियलमा क्यामरा फेस सामान्य तरिकाले गरिएको थियो तर फिल्ममा त फरक हुने रहेछ। फिल्मको प्राविधिक पक्षबारे मलाई धेरै जानकारी थिएन। नाटकमा स्वतन्त्रता थियो। फिल्ममा त सीमित घेराभित्र काम गर्नुपर्दो रहेछ। मेरो बुझाईमा फिल्म निर्देशक हो भने नाटक कलाकार हो’, उनी भन्छन्। ‘म अधिकांश नाटकमा फिल्मकोजस्तै पात्रमा अभिनय गर्थें। सुटिङ अघिको वर्कसपले पनि थप मजबुत बनायो।’
चरित्रमा काम गर्न कृष्णले फिल्मको छायांकन स्थलमा मात्र नभएर सुत्दा पनि त्यही लुगा लगाएको बताउँछन्। फिल्मको सुटिङअघि ८५ किलोका कृष्ण छायांकनपछि ५२ मा झरे। ‘त्यो बेलाको लुक्स र अहिलेको लुक्स फरक छ। धेरैले त्यो पात्र मै हुँ भन्दा पत्याउँदैनन्। अहिले ६४ किलो पुगेको छु’, कृष्णले हाँस्दै भने।
जीवन सेञ्चुरीको निर्देशनमा बनेको फिल्म ‘जुनाः एक व्यथा’ मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ।
कृष्ण स्टेण्डअप कमेडीबाट उदाएका कलाकार हुन्। उनी कमेडियन मनोज गजुरेललाई गुरु मान्छन्। गाईजात्राको समयमा मनोज गजुरेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बन्दा उनी भने सुशील कोइराला गेटअपमा थिए।
सिन्धुपाल्चोकस्थित रेडियो मेलम्चीको सञ्चालकसमेत रहेका कृष्णले आरोहण गुरुकुलमा डेढ वर्ष सुनील पोखरेलसँग अभिनय सिकेको बताउँछन्।