सरकार अहिले परिवर्तन हुँदैन : नेता कोइराला

हिमाल प्रेस १७ माघ २०८१ २०:५३ | Thursday, January 30, 2025
सरकार अहिले परिवर्तन हुँदैन : नेता कोइराला कांग्रेस नेता डा. शेखर कोइराला।

मोरङ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन नहुने बताएका छन्।

पेशागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनद्वारा बिहीबार विराटनगरमा आयोजित ‘संविधान संशोधन र चुनौती’ विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै नेता कोइरालाले मुख्यरुपमा संविधान संशोधन, आर्थिक विकास र मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने उद्देश्य पूरा गर्ने समयसम्म सरकार रहने प्रष्ट पारे।

कोइरालाले प्रतिपक्षी दलसँग वार्ता एवं छलफल गरी सहमतिका आधामा संविधान संशोधन गरेमा सबैको अपनत्व कायम हुने उल्लेख गरे। उनले प्रतिनिधिसभाको निर्वाचनमा समावेशीतालाई कायम राखी प्रत्यक्ष निर्वाचन गराएमा निर्वाचनको समस्या समाधान हुनुका साथै राजनैतिक स्थिरता कायम हुने बताए।

प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले जनतामाझ छलफल गरी संविधान संशोधन गर्न सुझाव दिए।

पूर्वमुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो बलिदानीबाट ल्याएको संघीयतालाई कार्यान्यवन गर्नु हामी सबैको कर्तव्य रहेको बताए।

संविधानविद् वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले भाषाको शुद्धाशुद्धि, अवधारणको त्रुटि र संविधानको अन्तरवस्तु संशोधन गर्नु आवश्यक भएको सुझाव दिए।

उनले राष्ट्रपति पद राजनीतिक नभएको भन्दै न्यायालय स्वतन्त्र भएमा लोकतन्त्र बलियो हुने धारणा राखे।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं वुद्धिजीवी विभागकी प्रमुख डा. डिला सङ्ग्रौलाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र आर्थिक समृद्धि ल्याउन संविधान संशोधन आवश्यक भएको विचार राखिन्।

लयर्स एशोसिएशनका अध्यक्ष सीताराम केसीले भ्रष्टाचार अन्त्य र मुलुकमा सुशासन कायम गर्न संविधान संशोधन आजको आवश्यकता भएको बताए।

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू र विभागका प्रदेश अध्यक्ष राम थापाले मानव विकासका लागि संशोधन गर्नुपर्ने सुझाव दिए।

वरिष्ठ अधिवक्ता भरतबहादुर थापाले संविधान संशोधनका विषयबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: १७ माघ २०८१ २०:५३ | Thursday, January 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast