आहा-रारा पोखरा गोल्डकपको टाइसिट सार्वजनिक, उद्घाटनमा आयोजक र नेपाल पुलिस भिड्ने

हिमाल प्रेस १७ माघ २०८१ १५:२४ | Thursday, January 30, 2025
आहा-रारा पोखरा गोल्डकपको टाइसिट सार्वजनिक, उद्घाटनमा आयोजक र नेपाल पुलिस भिड्ने

पोखरा– २४ औँ आहारारा पोखरा गोल्डकपको टाइसिट सार्वजनिक भएको छ। आयोजक सहारा क्लब पोखराले यही माघ २२ देखि सञ्चालन गर्ने २४ औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार टाइसिट सार्वजनिक गरेको हो।

१२ टिमले भाग लिने प्रतियोगितामा भारत, यूके, उजेकिस्तानका टिमसहित नेपालका ‘ए’ डिभिजन क्लबले समेत भाग लिँदै छन्।

प्रतियोगिताको उद्घाटन खेल आयोजक र विभागीय नेपाल पुलिस क्लबबीच हुनेछ। फागुन ३ हुने फाइनलअघि माघ ३० मा पहिलो सेमिफाइनल र १ फागुनमा दोस्रो सेमिफाइनल हुनेछ।

समूह ‘ए’ तर्फ आयोजकसहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज यूनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब छन्। तीमध्ये यूके र आर्मीले सिधै क्रमशः पहिलो र तेस्रो क्वाटरफाइनल खेल्ने छन्।

समूह ‘बी’ मा एपीएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ यूनाइटेड, संकटा, थ्रिस्टार र उजेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन्। तीमध्ये थ्रिस्टार र उजेकिस्तानले सिधै क्रमशः दोस्रो र चौथो क्वाटरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए।

पोखरा रंगशालामा हुने प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हो। संरक्षकमा पोखरा महानगरपालिका छ भने सहप्रायोजकमा जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर लङ्ग्रेन प्रिमियम बासमती राइस रहेको छ।

प्रतियोगितामा १ करोड ५१ लाख आम्दानी, १ करोड ४२ लाख खर्च र ८ लाख ८० हजार बचत हुने आयोजकको अनुमान रहेको छ। गत संस्करणको विजेता त्रिभुवन आर्मी र उपविजेता थ्रि स्टार हुन्। उनीहरुले क्रमशः १२ लाख र ६ लाख प्राप्त गरेका थिए।

‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ,’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबलमार्फत सामाजिक कार्य गर्दै आएको छ। आहारारा नेपालमै निरन्तर भइरहेको एकमात्र फुटबल प्रतियोगिता हो। प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष केशवराज बरालले बताए। हाल एकेडेमीमा ३० जना बालक आश्रित छन् ।

प्रकाशित: १७ माघ २०८१ १५:२४ | Thursday, January 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast