सरकारले भन्यो : रेल दुर्घटनामा निधन भएका नेपालीको शव ल्याउने तयारी भइरहेको छ

हिमाल प्रेस ११ माघ २०८१ १७:४१
18
SHARES
सरकारले भन्यो : रेल दुर्घटनामा निधन भएका नेपालीको शव ल्याउने तयारी भइरहेको छ तस्बिरः पीटीआई

काठमाडौँ- सरकारले भारतको महाराष्ट्रमा रेल दुर्घटनामा परी मृत्यु भएका सात नेपालीको शव ल्याउन सहजीकरण भइरहेको जनाएको छ।  रेल दुर्घटनामा मृत्यु भएका तथा घाइतेहरूको उपचारका लागि सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको हो।

परराष्ट्रले शुक्रबार मृतकहरूको नामसहितको विज्ञप्ति निकालेर शव ल्याउन सम्बन्धित निकायमार्फत सहजीकरण भइरहेको जनाएको छ। ‘दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव ल्याउन तथा घाइतेहरूको शीघ्र उपचार गर्नका लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवं सहजीकरण गरिरहेको छ,’ परराष्ट्रले विज्ञप्ति निकालेर भनेको छ।

भारतको महाराष्ट्रस्थित जलगाउँमा बुधबार साँझ रेलमा किचिएर सात नेपालीसहित १२ जनाको मृत्यु भएको थियो।

कसरी भयो दुर्घटना?

लखनउबाट मुम्बईतर्फ गइरहेको पुष्पक एक्सप्रेसमा एकाएक आगलागी भएको अफवाह फैलियो। अत्तालिएर केही यात्रुले ट्रेनको चेन (आपतकालीन ब्रेक) ताने। त्यसपछि ट्रेन रोकियो। यात्रुहरू हतार गर्दै ट्रेनबाट ओर्लिए। ठिक त्यहीबेला छेउको ट्र्याकमा कर्नाटक एक्सप्रेस ट्रेन आइरहेको थियो। कर्नाटक एक्प्रेस ट्रेनमा किचिएर १३ जना यात्रुको मृत्यु भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ।

लखनउबाट हिँडेको पुष्पक एक्सप्रेस ट्रेन भारतीय समयअनुसार बुधबार साँझ ४:४२ बजे ४२५ किलोमिटर दूरी तय गरेर जलगाउँको पचोरा स्टेसननजिक पुगेपछि यो दुर्घटना भएको हो।

प्रत्यक्षीदर्शी यात्रुलाई उद्धृत गर्दै आजतकले जनाएअनुसार ट्रेनमा आगलागी भएको अपवाहमात्रै थियो। ट्रेनमा आगलागी नभए पनि विनाकारण अपवाह फैलिँदा दुर्घटना हुन पुगेको उनीहरूले बताएका छन्।

‘आमाले सुत्न भन्नुभयो। फेरि एक्कासि बोगीमा आगो लागेको छ भन्ने हल्ला फैलियो। मलाई पनि भाग्न भन्दै आमा अत्तालिएर ट्रेनबाट ओर्लिनुभयो। न आगो थियो, न धुवाँ। तल ओर्लिएर छेउको ट्र्याकतिर हेर्दा आमाको शव थियो,’ कमला भण्डारीकी बुहारी राधा भण्डारीले भारतीय सञ्चारमाध्यमसँ भनेकी छन्।

रेलवेका प्रवक्ता स्वप्निल नीलाले हामफालेका ती यात्रुहरूलाई छेउकै लिकबाट गुडिरहेको अर्को एक्सप्रेस रेलले ठक्कर दिएको थियो। ‘पुष्पक एक्सप्रेसका एउटा कोचमा ब्रेक जामका कारण धुवाँ देखिएको थियो, जसले गर्दा केही यात्रुहरू आतंकित भए,’ एक वरिष्ठ रेलवे अधिकारीले पीटीआईसँग भनेका छन्।

प्रकाशित: ११ माघ २०८१ १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast