काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा गरेको अन्तरघात स्वीकार नगरेसम्म समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन्। उनले बुधबार हिमालप्रेससँगको कुराकानीमा भने, ‘मोर्चालाई देखाएर नेता बन्ने, तर मौका पाएसँगै अन्तरघात गर्ने। अनि किन जाने मोर्चामा?’ प्रचण्डबाट विगतमा भएको विश्वासघातबारे प्रस्ट नहुँदासम्म मोर्चामा जाने कुनै सम्भावना छैन।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा गठनका लागि पहलकदमी गरिरहँदा एउटा महत्त्वपूर्ण हिस्सा थियो, यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल। अध्यक्ष यादव समाजवादी मोर्चा गठन गर्नुपर्ने प्रस्ताव र पहलप्रति सकारात्मक मात्रै नभएर दृढसमेत थिए। समाजवादी मोर्चा गठनका लागि प्रयास चलिरहेकै बेला यादव नेतृत्वको जसपा नेपाल टुक्रियो। त्यसयता उनी मोर्चा बनाउने प्रयासमा सक्रिय देखिएका छैनन्। अझै पनि उनी मोर्चामा सहभागी नहुने अडानमा छन्। यति बेला यादव सत्ता पक्षमा छन् भने प्रचण्ड र नेपालको दल विपक्षमा छ।
मोर्चामा सहभागी गराउने प्रयास चलिरहँदा अशोक राईहरूले यादवको साथ छोडेर जनता समाजवादी पार्टी (जसपा) बनाएका थिए। प्रतिनिधिसभाका १२ सांसदमध्ये सातजना राईसँगै हिँडेपछि यादव कमजोरमात्र भएनन्, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चिढिएका पनि छन्।
अध्यक्ष यादव बुधबार आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकमा सहभागी भएनन्। बिहान माओवादी संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकमा भने एकीकृत समाजवादीका अध्यक्ष नेपालले जसपा अध्यक्ष यादव समाजवादी मोर्चामा चाँडै सक्रिय हुने दाबी गरेका थिए।
जसपा अध्यक्ष यादव अपराह्न एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकमा सहभागी नभएका हुन्। यादव बैठकबारे आफूलाई जानकारी नभएर सहभागी नभएको बताउँछन्। समाजवादी मोर्चाको बैठकमा किन जानु भएन भन्ने प्रश्नमा यादवले सँग भने, ‘कहिले बैठक बस्यो? कहाँ थियो बैठक? मलाई जानकारी भएन।’
आफ्नो पार्टी विभाजनका विषयमा पनि छलफल हुनुपर्ने उनको भनाइ छ। उनले भने, ‘जसपा फुटेपछि मोर्चाको बैठक बसेको छैन। पार्टी फोड्ने काम किन र कोबाट भयो, यो विषयमा पनि छलफल हुनुपर्यो नि!’ यादव नेतृत्वको जसपा नेपाल विभाजन हुँदा प्रचण्ड प्रधानमन्त्री थिए। प्रचण्डकै योजनामा आफ्नो पार्टी टुक्र्याउने काम भएको यादवको दाबी छ। ‘समाजवादी मोर्चामै छँदा हाम्रो फोड्ने काम भयो, अनि त्यो मोर्चामा किन जाने?,’ यादवले भने।
एमालेको समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकारमा यादव स्वास्थ्यमन्त्री थिए। स्वास्थ्यमन्त्रीकै रूपमा एक कार्यक्रममा सहभागी हुन अमेरिका गएका बेला उनको पार्टी विभाजन भएको थियो। स्वदेश फर्किएलगत्तै प्रचण्डले यादवलाई सरकारबाट हटाएर राई नेतृत्वको जसपालाई सरकारमा सामेल गराएका थिए। प्रचण्डले जोसुकैलाई धोका दिनसक्ने बुझाइ यादवको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सभापतिदेखि एकीकृत समाजवादीका अध्यक्ष नेपालसम्मलाई धोका दिने काम गरेको उनको भनाइ छ।
‘प्रचण्डजीले सरकार हेरफेर गरेर माधवजीलाई झुक्याउनुभएकै हो। त्यसअघि केपी ओली र शेरबहादुर देउवालाई धोका दिनुभएकै हो,’ यादवले भने, ‘हामीले त धोका र घात दुवै पायौँ। प्रचण्डजीको स्वभाव दुनियाँले थाहा पाइस्क्यो।’ आफूहरूसँग वितगमा भएको धोकाबारे प्रस्ट नहुँदासम्म मोर्चामा फर्किने सम्भावना नभएको उनले बताए।
पार्टी विभाजनपछि अध्यक्ष यादव यतिबेला संगठन विस्तार अभियानमा जुटेका छन्। झन्डै चार महिनासम्म निरन्तर मधेश प्रदेश र कोशी प्रदेशका केही जिल्लामा उनी पार्टीको संगठन विस्तार अभियानमा केन्द्रित रहे। उनी मंगलबार काठमाडौँ फर्किएका छन्।