नेपाल साहित्यमा योगदान गर्ने भारतका चार स्रष्टालाई नइ पुरस्कार

हिमाल प्रेस १ माघ २०८१ २०:२३
30
SHARES
नेपाल साहित्यमा योगदान गर्ने भारतका चार स्रष्टालाई नइ पुरस्कार

काठमाडौँ- नइ प्रकाशनले भारतका चार जना स्रष्टालाई २०८० सालका विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको विशेष बैठकले सो निर्णय गरेको हो।

नइ प्रकाशनले दुई लाख राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारत असमका केबी नेपालीलाई प्रदान गर्ने निर्णय गरेको छ। साहित्य सिर्जना र बिन्दु त्रैमासिकको सम्पादनका माध्यमबाट नेपाली वाङ्‍‍मयको श्रीवृद्धिका लागि विगत साढे ६ दशकदेखि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई सो पुरस्कार समर्पण गरिने भएको हो। यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ।

विशेष गरेर नेपाली गीतको गायनका लागि उच्चस्तरीय संगीत निर्माण गरी देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन अहोरात्र क्रियाशील संगीतकार मुम्बई निवासी रञ्जित गजमेरलाई ‘नइ कोइलीदेवी पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ।

यसै गरी नेपाली भाषासाहित्यको समालोचना तथा अन्वेषणमा समर्पित रही उत्कृष्टता हासिल गरेबापत दार्जिलिङका डा.जीवन नामदुङलाई ‘नइ ईश्वर बराल पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।

साथै नेपाली साहित्यमा कविता, निबन्ध, कथा र समालोचना लेखनबाट प्रसिद्धी कमाएकी सिक्किम निवासी साहित्यकार डा.शान्ति क्षेत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ।

यी तीनवटा पुरस्कारका राशि जनही एक/एक लाख रुपैयाँका हुन्।

प्रकाशित: १ माघ २०८१ २०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast