पाँचौं टाइगर कपमा १२ टिम टुंगो

हिमाल प्रेस १ माघ २०८१ २०:०५ | Tuesday, January 14, 2025
पाँचौं टाइगर कपमा १२ टिम टुंगो

पोखरा- टाइगर ग्रुप अफ नेपालको आयोजनामा माघ दोस्रो सातादेखि पोखरा रंगशालामा हुने टाइकर कप भलिबल प्रतियोगितामा १२ टिमको टुंगो लागेको छ। तीमध्ये महिला र पुरुषतर्फ ६/६ टिमले भाग लिने निश्चित भएको हो।

एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता यस क्षेत्रमा हुने सबैभन्दा ठूलो राशिको भलिबल प्रतियोगिता हो। प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले मंंगलबार विज्ञप्ति जारी गर्दै टिमबारे जानकारी दिएका हुन्।

उनका अनुसार पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, श्रीलंकन भलिबल टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले भाग लिनेछन्।

महिलातर्फ नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड र आयोजकको टिमले भाग लिनेछन्। आयोजकले महिलातर्फ पहिलोपल्ट टिम उतार्न लागेको हो। १२-१९ माघसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिलातर्फ विजेताले ५ लाख ८५ हजार ५५५ रुपैयाँ, उपविजेताले २ लाख ८५ हजार ५५५ र तेस्रोले १ लाख ८५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

सर्वोत्कृष्ट हुने खेलाडी (महिला/पुरुष दुवै) ले जनही २५ हजार ७७७ प्राप्त गर्नेछन्। विधागततर्फ उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकले जनही १० हजार ५५ रुपैयाँ साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजक क्लब अध्यक्ष नारायणप्रसाद शर्मा बताउँछन्। गत चौथो संस्करणको उपाधि पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ एपीएफले जितेका थिए। हेल्प नेपालले घरेलु टिम गण्डकीलाई ३–१ को सेटमा र महिलातर्फ एपिएफले न्यू डायमण्डलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो।

प्रकाशित: १ माघ २०८१ २०:०५ | Tuesday, January 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast