सुप्रिम सहकारी ठगी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन, रविलाई ४ करोड १५ लाख बिगो माग

हिमाल प्रेस २६ पुष २०८१ १९:३४
22
SHARES
सुप्रिम सहकारी ठगी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन, रविलाई ४ करोड १५ लाख बिगो माग

लुम्बिनी- प्रहरीले रुपन्देहीस्थित बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको बचत अपचलनको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाएर गरेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीलाई बुझाएको हो। इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डितले सहकारीको रकम अपचलनमा पुरक अनुसन्धान गरेर बिहीबार सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको जानकारी दिए।

पुराना २८ र नयाँ १४ गरी ४२ जनाविरुद्ध मुद्दा चलाउने रायसहित प्रतिवेदन प्रहरीले बुझाएको छ। सुप्रिमबाट गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रहेका लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित सहकारीका सञ्चालकहरूलाई मुद्दा चलाउने रायसहित प्रतिवेदन तयार भएको प्रहरीले जनाएको छ। प्रहरीको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयका मुख्य न्यायाधिवक्ता प्रेमराज पौडेलसहितको टोलीले अध्ययन गरी मुद्दाका रुपमा अगाडि बढाउने छ।

पूर्वगृहमन्त्री लामिछानेलाई ४ करोड १५ लाख र पूर्वडीआईजी जोशीलाई ४ करोड २७ लाख बगो दाबीसहित मुद्दा चलाउन प्रहरीले राय दिएको छ। लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार मात्रै छुटेका थिए। उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति  शुद्धीकरणको मुद्दा दायर भएको थियो।

कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो। लामिछानेले सुप्रिमको रकम अपचलनका सम्बन्धमा गत कार्तिक २७ गते रुपन्देही आएर बयान दिएका थिए।

यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो। त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। पछि १४ जनालाई प्रतिवादी बनाएर पुरक जाहेरी परेपछि प्रहरीले थप अनुसन्धान गरेको थियो।

प्रकाशित: २६ पुष २०८१ १९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast