विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

हिमाल प्रेस २६ पुष २०८१ १७:१८ | Friday, January 10, 2025
विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ– मलेसियामा आयोजना हुने आइसीसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई शुक्रबार बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) द्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा पूजा महतोको कप्तानीमा रहेको नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका पदाधिकारीलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन्।

युवा तथा खेलकुदमन्त्री चौधरीले नेपाली युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउँदै विद्यालयस्तरदेखि नै खेल क्षेत्रलाई अगाडि बढाउन आवश्यक रहेको उल्लेख गरे।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को आयोजनामा हुने उक्त प्रतियोगिता आगामी माघ ५ देखि २० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालको यो पहिलो सहभागिता हो। विभिन्न १६ राष्ट्र सहभागी विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ।

नेपालको समूहमा बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड छन्। नेपालले समूह चरणको पहिलो खेल आगामी माघ ५ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ।

त्यस्तै दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलंका र वेस्टइण्डिज छन्। त्यस्तै समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् भने समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया रहेका छन्।

नेपाली युवा टोलीमा कप्तान महतोसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, रचना चौधरी, अनु कडायत, तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी र ज्योत्सिका मरासिनी रहेका छन्।

नेपाली टोलीका प्रशिक्षक महेशप्रसाद रिजालले नेपाली टोलीको प्रशिक्षण राम्रो भएको बताउँदै प्रतियोगितामा शतप्रतिशत नतिजा ल्याउने योजना रहेको उल्लेख गरे।

नेपाली टोलीकी कप्तान महतोले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वकपमा नयाँ इतिहास रच्ने योजना रहेको बताइन्। नेपाली टोली शनिबार मलेसिया प्रस्थान गर्नेछ।

प्रकाशित: २६ पुष २०८१ १७:१८ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast