मदन भण्डारी गोल्डकप : पुरुष भलिबलको उपाधि नेपाल आर्मीलाई

हिमाल प्रेस २५ पुष २०८१ २१:४०
8
SHARES
मदन भण्डारी गोल्डकप : पुरुष भलिबलको उपाधि नेपाल आर्मीलाई

लुम्बिनी- मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप-२०८१ को उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ। बुटवलमा बिहीबार सम्पन्न फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो।

आर्मीले नगद ७ लाख, आकर्षक १५ केजीको रनिङशिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ। हङकङ निवासी खेलप्रेमी विष्णुबहादुर गुरुङ (ठुले) ले आयोजकमार्फत उपाधि विजेता टिमलाई थप नगद १ लाख ५ हजार रुपैयाँ प्रदान गरे। निकै प्रतिस्पर्धात्मक खेलमा उपविजेता बनेको नेपाल पुलिसले भने नगद ३ लाख ५० हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो।

यस्तै प्रतियोगितामा बुटवलको मणिमुकुन्द भलिबल क्लब तेस्रो हुँदै नगद १ लाख ७५ हजार तथा भारतको गुजरात भलिबल क्लब चौथौ हुँदै नगद १ लाख रुपैयाँबाट पुरस्कृत भएको छ।

नेपाल पुलिस क्लबले लगातार अग्रता लिँदै पहिलो सेट २५-१८ अंकले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट भने आर्मीले फर्काउन सफल भयो। २५–१८ अंकसहित आर्मीले दोस्रो सेट जित्दै खेल बराबरी ल्यायो।

लगत्तै तेस्रो सेटमा पुलिसले उत्कृष्ट खेल प्रदर्शन गर्दै २५–२१ अंकसहित पुनः टिमलाई अग्रता दिलायो। चौथो सेटमा आर्मी खेलमा फर्कियो। २५–२२ अंकसहित चौथो सेट जित्दै आर्मीले खेललाई पाचौँ सेटमा धकेलेको थियो।

निर्णायक पाचौँ सेटमा आर्मी सुरुवातबाट नै हाबी देखियो। उत्कृष्ट स्पाइकसहित १५–७ अंकले जित निकाल्दै आर्मीले उपाधि हात पार्न सफल भएको हो।

प्रतियोगितामा आर्मीका धन बहादुर भट्ट मोस्ट भ्यालुएबल प्लेयर घोषित हुँदै नगद २५ हजार, गिफट हेम्परबाट पुरस्कृत भए। पुलिसका सन्जुविक्रम शाह उत्कृष्ट आउटसाइड हिटर, रबिन चन्द उत्कृष्ट अपोजिट हिटर, रबिन नगरकोटी उत्कृष्ट मिडल ब्लकर, त्रिभुवन आर्मीका दुर्गाप्रसाद महतो उत्कृष्ट सेटर, त्रिभुवन आर्मीकै ईश्वर थापा उत्कृष्ट लिबेरो, आर्मीकै लोक बहादुर बुढा उत्कृष्ट कोच घोषित हुँदै नगद १० हजार रुपैयाँसहित गिफ्ट हेम्परबाट पुरस्कृत भए।

विजेता टिमलाई बिहीबार लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, नेकपा एमाले पोलिट्ब्यरो सदस्य दधिराम न्यौपाने, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका पूर्व अध्यक्ष राजु गुरुङ, पूर्व क्रिकेटर तथा कोच शक्ति गौचन, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरे। प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता थियो।

प्रकाशित: २५ पुष २०८१ २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast