काठमाडौँ– मधेश प्रदेशमा सत्ता गठबन्धनमा खटपट सुरु भएको छ। सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेप्रति आलोचना गरेपछि गठबन्धनभित्रको खटपट छताछुल्ल भएको हो। यसबाट सिंह नेतृत्वको सरकार ‘संकट’ तर्फ धकेलिएको नेताहरूले बताएका छन्।
चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दा पनि विकास खर्च एक प्रतिशत नाघ्न नसक्दा सरकारको आलोचना भइरहेको छ। यसै विषयमा जनमतका अध्यक्ष राउतले प्रमुख सत्ता साझेदार दलहरू कांग्रेस र एमालेप्रति कडा टिप्पणी गरेका छन्।
राउतले सामाजिक सञ्जालमार्फत प्रदेश सरकारमा सहभागी कांग्रेस र एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीलाई नटेरेको आरोप लगाएका छन्। प्रमुख सचिवसहित मन्त्रालयका सचिव र मन्त्रीले मुख्यमन्त्रीलाई नटेरेर सरकारलाई असफल देखाउन षड्यन्त्र गरिरहेको राउतको भनाइ छ।
‘कुनै पनि मन्त्रालयका मन्त्रीहरूले मुख्यमन्त्रीलाई नेटर्ने, अनियमिततामा संलग्न हुने, तैपनि मुख्यमन्त्रीले ठूला दलको अनुमतिविना उनीहरूलाई बर्खास्त गर्न नसक्ने बाध्यता छ,’ राउतले भनेका छन्।
यति मात्रै होइन, मुख्यमन्त्री सतिशकुमार सिंहले कांग्रेसका तर्फबाट अर्थमन्त्री बनेका सुनिलकुमार यादवलाई स्पष्टीकरण सोधेर सार्वजनिक गरेपछि सत्ता साझेदार दलका साथै प्रमुख प्रतिपक्षी पनि चिढिएका छन्।
बजेटमा विनियोजन भएका पुँजीगत खर्च हुन नसकेको भन्दै मुख्यमन्त्री सिंहले अर्थमन्त्री यादवसँग केही दिनअघि लिखित स्पष्टीकरण सोधेका थिए। अर्थमन्त्रीलाई स्पष्टीकरण सोधिएको विषयलाई लिएर राउतले मुख्यमन्त्री सिंहको बचाउ गरेका छन्।
अध्यक्ष राउतले अर्थमन्त्रीले मुख्यमन्त्रीलाई हदैसम्मको अटेरी गरेपछि स्पष्टीकरण सोध्न बाध्य भएको जनाएका छन्। उनले भनेका छन्, ‘अर्थमन्त्रीले हदैसम्म अटेरी गर्दा, कुनै काम नगरिदिँदा, सबै बजेट रोक्का गर्दा, टेन्डर प्रक्रिया अगाडि नबढाउँदा र महिनौँ भइसक्दा पनि कार्यविधि नबनाइदिँदा मुख्यमन्त्री स्पष्टीकरण सोध्न बाध्य हुनुभएको हो। वर्तमान अर्थमन्त्रीलाई हटाएर अर्को अर्थमन्त्री पठाउन गठबन्धनलाई आग्रह गर्दासमेत सुनिएको छैन।’
प्रदेशसभाको ठूलो र दोस्रो दल एमाले तथा कांग्रेसको समर्थनमा जनमत पार्टीका नेता सिंह मुख्यमन्त्री बनेका हुन्।
कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री सिंह आफैँले काम गर्न नसकेको आरोप लगाउँछन्। यस्तो अवस्थामा जनमत पार्टीका अध्यक्ष राउतले अरूलाई दोष देखाएर आफू चोखिन खोजेको भनाइ यादवको छ।
‘जनमत पार्टीका अध्यक्ष र मुख्यमन्त्रीले नाच्न नजान्ने आँगन टेढो भन्ने उखानलाई चरितार्थ गरिरहनुभएको छ,’ यादवले हिमालप्रेससँग भने, ‘अध्यक्ष राउत सरकारबाहिर छँदा खुबै क्रान्तिकारी कुरा गर्नुहुन्थ्यो, अहिले काम गर्न नसकेपछि कांग्रेस र एमालेलाई दोष लगाउने काम गरिरहनुभएको छ।’
यादवले सत्ता साझेदार दलहरूमाथि सम्पूर्ण दोष देखाउने प्रवृत्तिले गठबन्धन नचल्ने बताए। आफू चोखो र अरू सबै बेइमान भन्ने मनोदशाबाट जनमत पार्टी गुज्रिइरहेको यादवले बताए। ‘राउतजी आफूलाई चोखो र अरू सबैलाई बेइमान ठान्नुहुन्छ। उहाँ विद्वान् हुनुहुन्छ। खोजअनुसन्धानतिर समय खर्चे हुन्छ, यसरी राजनीति हुँदैन। सरकार चलाउन धेरै सिक्न बाँकी छ,’ उनले थपे, ‘कांग्रेस र एमालेले सरकार चलाउन कहाँ असहयोग गर्यो, कहाँ बेइमानी गर्यो, देखाइदिन राउतजीलाई मेरो चुनौती छ।’
संसदीय दलका नेता यादवले जनमत पार्टीका अध्यक्ष राउतले आफूहरूमाथि लगाएको आक्षेप कपोकल्पित रहेको बताए। आफूले दिएको जवाफमाथि चित्त नबुझे राउतलाई आवश्यक कदम चाल्न छुट रहेको पनि उनले बताए।
‘उहाँले जुन आक्षेप लगाउनुभएको छ, त्यो निराधार र कपोलकल्पित हो,’ यादवले भने, ‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने गरेका छैनौँ। राउतजीलाई हाम्रो जवाफमाथि चित्त बुझेको छैन थप कदम चाल्न उहाँलाई छुट छ।’
जनमत नेतृत्वको सरकारमा कांग्रेस र एमालेका साथै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी छ। सरकार सञ्चालनका साथै महत्त्वपूर्ण निर्णय लिँदा मुख्यमन्त्री सिंहले गठबन्धन दलसँग सल्लाह लिने नगरेको यी दलहरूको आरोप छ।
लोसपाका प्रदेश सांसद उपेन्द्र महतो मुख्यमन्त्री सिंहले सरकार सञ्चालनका विषयमा छलफल नगरेर सत्ता साझेदारमाथि सहयोग नगरेको आरोप लगाउन खोजेको बताए। गठबन्धनभित्रै समस्याको समाधान नखोजेर जनमतका अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्नु उपयुक्त नभएको उनको भनाइ छ।
‘केही समस्या छ भने गठबन्धनभित्र बसेर समाधान खोजिनुपर्ने थियो। तर सरकारको नेतृत्व गरिरहेको दलका राष्ट्रिय अध्यक्षले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिनु दुःखद् कुरा हो,’ महतोले भने, ‘सिंहले ड्राइभर सिटमा आफू बसेर चलाउन दिएन भन्नु हास्यास्पद कुरा हो। यो उहाँको अक्षमताको परिचय हो।’
दलको राष्ट्रिय अध्यक्षले कांग्रेस र एमालेले काम गर्न दिएन भन्नु ठिक नभएको उनले बताए। महतोले भने, ‘आन्दोलन गर्नु र सरकार चलाउनु फरक विषय हो। सडकबाट त उहाँ मल कारखाना नै खोलिदिनुहुन्छ। खै त कारखाना?’ जनमत पार्टीले सरकार सञ्चालनका विषयमा थुप्रै कुरा सिक्न बाँकी रहेको उनको भनाइ छ।
उनले जनमत पार्टीका अध्यक्ष राउतले प्रदेश सरकारमाथि नियन्त्रण गर्न खोजेको आरोप लगाए। ‘मुख्यमन्त्रीजीसँग मेरो आग्रह छ- उहाँले आफ्नो अध्यक्षजीलाई प्रदेश सञ्चालनमा हस्तक्षेप नगर्न भन्नुपर्यो। प्रदेशमाथि नियन्त्रण गर्न खोज्नु ठिक होइन,’ महतोले भने, ‘प्रदेश हामीलाई चलाउँछौँ, उहाँले केन्द्र चलाए हुन्छ।’
आर्थिक वर्षको झन्डै आधा समय बितिसक्दा प्रदेश सरकारका मुख्यमन्त्रीलाई पुँजीगत खर्च अगाडि बढाउन कसले रोकेको भन्दै उनले प्रश्न गरे। जनमत पार्टीको नेतृत्व र मुख्यमन्त्री सिंहको कार्यशैलीबाट सत्ता साझेदारका साथै प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि रुष्ट बनेको छ।
प्रदेशका पूर्वमुख्यमन्त्री एवं जसपा (नेपाल) का प्रदेश सांसद लालबाबु राउतले आफैँले ल्याएको नीति तथा कार्यक्रमअनुसारको बजेट खर्च गर्न सरकारलाई कसैले नरोकेको बताउँछन्। ‘नीति कार्यक्रम उहाँले नै ल्याउनुभएको हो, बजेट पनि उहाँहरूले नै ल्याउनुभएको हो,’ राउत भन्छन्, ‘यो ६ महिनामा बजेट खर्च गर्न कसले रोकेको छ? विकास खर्च किन हुन सकेको छैन?’
उनले सत्ता साझेदार दलहरूसँग मुख्यमन्त्रीले समन्वय गर्न नसक्दा प्रदेशमा विकास निर्माण अगाडि बढ्न नसकेको जिकिर गरे। ‘समन्वय गर्ने काम प्रतिपक्षको हो र? आफ्नै सरकारका मन्त्रीलाई स्पष्टीकरण सोधिन्छ। यस्तो अपरिपक्वता, यस्तो पनि हुन्छ र?’ राउतले भने, ‘सरकार भनेको मुख्यमन्त्रीको हुन्छ, उसले चाह्यो भने मन्त्रीलाई बिदा दिनसक्छ। स्पष्टीकरण पनि सोध्ने हो र? स्पष्टीकरण कम स्टन्ट बढी गरिएको छ।’
सत्तामा नहुँदा एक दुईपटक जनतालाई गुमराह गर्न सकिए पनि सधैँ यस्तो चल्न नस्कने उनको भनाइ छ। राउतले सरकार बाहिर रहँदा जनमत पार्टीले जनतालाई दिगभ्रमित गर्ने काम गरेको आरोप लगाए। उनले प्रदेशको मुख्यमन्त्रीको मर्यादा पार्टी अध्यक्षले निर्धारण गर्न नहुने जिकिर गरे।
जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई सोधेको स्पष्टीकरणबारे राउतले भने, ‘कुनै मुख्यमन्त्रीको मर्यादा उसको पार्टी अध्यक्षले निर्धारण गर्ने होइन। तपाईँ बन्दकोठामा ल्याएर मन्त्रीसँग सोध्नुस्। मुख्यमन्त्रीको गरिमालाई ठेस पुग्ने गरी सार्वजनिक रूपमै स्पष्टीकरण सोध्नु गलत हो।’
‘अरू सबलाई बेइमान र आफूमात्रै इमानदार रहेको मनोवृत्तिबाट सरकार चल्नेवाला छैन,’ उनले भने, ‘आफू काम गर्न नसक्ने र सबै दोष सत्ता साझेदार दलहरूमाथि थुपार्ने खोजेको देखिएको छ।’
पूर्वमुख्यमन्त्री राउतले पछिल्लो समय उत्पन्न परिस्थितिले सरकार टिक्नेमा शंका उत्पन्न भएको बताए। उपभोक्ताबाट होस् वा टेन्डरबाट विकासको काम अगाडि बढाउने जिम्मेवारी सरकारको रहेको उनले बताए।