 
                             
                                            लुम्बिनी– ‘पर्यटनका लागि शान्ति, शान्तिका लागि सञ्चार यात्रा’ भन्ने नाराका साथ भैरहवादेखि बुद्धजन्मस्थल लुम्बिनीसम्म बिहीबार बौद्ध सञ्चार यात्रा गरिएको छ।
लुम्बिनी प्रेस क्लबको दशौँ स्थापना दिवसका अवसर पारेर विश्वशान्तिको कामना सहित सञ्चारकर्मीहरुले पैदलयात्रा गरेका हुन्।
बिहान भैरहवा बुद्धचौकदेखि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा बौद्धसञ्चारयात्रा गरिएको थियो।
त्रिपिटकमा समेत बुद्धको यात्राबारे वर्णन गरिएको र बुद्धका उपदेश मानवता र शान्तिका लागि आवश्यक रहेकाले एक सय जनाको सहभागितामा २४ किमिको ‘बौद्ध सञ्चार यात्रा’ गरिएको लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले जानकारी दिए।
विश्वमा मानिसहरुमा शान्ति, करुणा र मानवता हराउँदै गएको अवस्थामा कलमजीविहरुले पनि समाजमा सकरात्मक उर्जा दिनका लागि यात्रा गरिएको उनले बताए।
लुम्बिनी पुगेका सञ्चारकर्मी लगायतको टिमलाई लुम्बिनी विकास कोषका तर्फबाट सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरे। लुम्बिनी पुगेका प्रमुख जिल्ला अधिकारी सहित सञ्चारकर्मीहरुलाई सदस्य सचिव शाक्यले खादा ओढाएर स्वागत गरेका थिए।
बौद्धसञ्चारयात्राको टोलीले लुम्बिनीमा संक्षिप्त कार्यक्रम गरेर यात्रा टुंग्याएको थियो। उक्त अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भैरहवादेखि बुद्धको पवित्र जन्मस्थल लुम्बिनीसम्मको यात्राले सकरात्मक उर्जा पैदा गरेको बताए।
पैदलयात्रा गरेर लुम्बिनी पुगेका प्रमुख जिल्ला अधिकारी घिमिरेले २४ किमिको दुरीको यात्राले शरीर थाके पनि मनमा थप उर्जा पैदा भएको बताए। ‘पदयात्राले सकरात्मक उर्जासँगै बुद्धजन्मस्थल लुम्बिनीका बारेमा प्रचार प्रसार गर्न मद्त गरेको छ,’ उनले भने।
यस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धले गृहत्याग गरेदेखि हिँडेर जीवन बिताएको उल्लेख गर्दै त्यहीबेलाको सन्देश बोकेर सञ्चारकर्मीहरुले पैदलयात्रा गरेकोमा धन्यवाद दिए।
उनले बौद्ध सञ्चार यात्राले लुम्बिनी र शान्तिको सन्देशबारे सकरात्मक सन्देश दिएको समेत बताए। उक्त अवसरमा प्रेस क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपक घिमिरे, महासचिव प्रकाश न्यौपानेलगायतले बोल्दै सधैँ कापी–कलम र क्यामेरा बोकेर सूचना लिन जानेमात्र नभई लुम्बिनीबाट आध्यात्मिक ऊर्जा प्रदान गरेर पर्यटन प्रवद्र्धनमा जुटेको बताए।
मायादेवी मन्दिरमा सहभागीहरुलाई भिक्षु श्रीबजिरले १० मिनेट ध्यान गराएका थिए। यात्राका सहभागीलाई ठाउँठाउँमा स्थानीयले स्वागत गरेका थिए।
सञ्चारकर्मीसहित प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, उद्योगी, व्यवसायी, पर्यटन उद्यमी, भिक्षु, लामा, नागरिक अगुवा र अधिकारकर्मी गरी एक सय जनाले पैदल यात्रा गर्दै मायादेवी मन्दिरमा समापन गरिएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 