काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको च्याम्पियन टिम जनकपुर बोल्ट्स मधेश प्रदेशका सबै जिल्लामा विजयउत्सव मनाउने भएको छ।
गत शनिबार सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै उपाधि हात पारेको जनकपुर बोल्ट्सले मधेश प्रदेशका आठवटै जिल्लामा विजयउत्सव मनाउने तयारी गरेको हो।
विजयउत्सवको सुरूवात र अन्त्य जनकपुरबाट गर्ने तयारी जनकपुर बोल्ट्सले गरेको छ। यसका लागि शुक्रबार साँझ जनकपुर पुग्ने तयारी बोल्ट्स टिमको छ।
जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडाले मधेश प्रदेशको आठवटै जिल्लामा विजयउत्सव मनाउने तयारी गरिएको जानकारी दिए।
‘एनपीएलमा हामीले समग्र मधेश प्रदेशका साथै अधिकांश क्रिकेट प्रशंसकहरूको समर्थन पाएका छौँ,’ खतिवडाले हिमालप्रेससँग भने,‘जनकपुर बोल्ट्सले मधेशलाई प्रतिनिधित्व गर्ने भएकाले यो प्रदेशका आठवटै जिल्लामा विजयउत्सव मनाउने तयारी गरेका छौँ।’
उनले यसका लागि शुक्रबार साँझ जनकपुर पुग्ने तयारी रहेको बताए। खतिवडाका अनुसार जनकपुर–१४ रजौलमा निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट र्याली निकालेर जानकी मन्दिरमा टुंग्याउने कार्यक्रम तय भएको छ।
‘शुक्रबार जनकपुर पुग्ने योजना बनाएका छौँ,’ उनले भने,‘सबेरै पुगिए त्यही दिन नभए शनिबार बिहान र्याली निकाल्ने तयारी छ। रामजानकी रंगशालाबाट र्याली निकालेर जानकी मन्दिरमा अन्त्य गर्ने अहिलेसम्मको योजना छ।’
प्रबन्ध निर्देशक खतिवडाले जनकपुरको र्याली सकिएर महोत्तरी र त्यसपछि पश्चिमका जिल्लाहरू सर्लाही, रौतहट, बारा र पर्सा पुग्ने कार्यक्रम तय भएको जानकारी दिए।
पर्सामा र्याली सकेर जनकपुर बोल्ट्सको पूर्वका जिल्लाहरू सिरहा र सप्तरी पुग्ने कार्यक्रम छ। खतिवडाले भने,‘जनकपुरबाट सीधै पश्चिमका जिल्लाहरू जानेछौँ। त्यसपछि पूर्वका सिरहा र सप्तरी सकेर पुनः जनकपुर पुगी समापन ¥याली निकाल्ने कार्यक्रम तय भएको छ।’
टिमका विदेशी खेलाडीहरू फर्किइसकेकाले स्वदेशी सबै खेलाडीहरू विजयउत्सवमा सहभागी हुनेगरी कार्यक्रम बनाइएको उनले जानकारी दिए।
‘विदेशी खेलाडीहरू फर्किसक्नु भएको छ। टिमका स्वदेशी खेलाडीहरू मात्रै हुनुहुन्छ,’ उनले भने,‘कतिपय आ–आफ्नो घर जानुभएकोछ, सबै जना सहभागी हुने गरी समन्वय गरिरहेका छौँ।’
प्रदेशका आठवटै जिल्लामा र्याली निकाल्न र त्यसको व्यवस्थापनका लागि मधेश प्रदेश क्रिकेटसँग समन्वय भइरहेको खतिवडाको भनाइ छ।
‘र्यालीमा को–को सहभागी हुने, क–कसलाई आमन्त्रण गर्ने यसका लागि मधेश प्रदेश क्रिकेटसँग समन्वय गरिरहेका छौँ,’ उनले भने,‘जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्षलगायतका व्यक्तिहरूलाई सहभागी गराउने योजना बनाइएको छ।’
त्यस्तै र्यालीमा सहभागी हुन प्रदेशका मुख्यमन्त्री, मन्त्री र प्रदेश सांसदहरूलाई पनि निमन्त्रणा गर्नेगरी तयारी भइरहको उनले बताए।