काठमाडौँ- ‘क्रिसमस डे’को अवसरमा मुलुक नेतृत्वकर्ता व्यक्तिबाट शुभकामना–शुभेक्ष्या आउने क्रम जारी छ। राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गरेका छन्।
इसाई धर्मका अनुयायीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले चाडपर्वले मुलुकको धार्मिक र सांस्कृतिक विविधता झल्काउँदै आपसी एकता र समझदारीलाई कायम राख्न मद्दत पुग्ने उल्लेख गरेका छन्।
‘क्रिसमस डे’, २०२४ को अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले पर्व÷त्योहार र उत्सवहरु व्यापार र आर्थिक गतिविधिका लागिसमेत उत्तिकै महत्वपूर्ण रहेको बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपाली इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभामा शुभकामना व्यक्त गरेका छन्।
यस अवसरमा उहाँले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सम्पूर्ण इसाई धर्मावलम्वीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।