काठमाडौँ- नेपाली युवा अलराउन्डर क्रिकेटर कुशल मल्लले अन्तर्राष्ट्रिय लिग खेल्ने भएका छन्। उनलाई यूएईमा हुने इन्टरनेसनल लिग टी-२० डेजर्ट भाइपर्सले अनुबन्ध गरेको हो। डच अलराउन्डर बास डे लिड घाइते भएपछि डेजर्ट भाइपर्सले मल्ललाई उनको स्थानमा अनुबन्धित गरेको हो ।
भाइपर्सका निर्देशक टम मूडीले कुशल मल्ललाई टिममा लिइएको जानकारी दिँदै भनेका छन्, ‘उनी युवा खेलाडी हुन् । युवा खेलाडी भए पनि माथिल्लो स्तरमा उनले उल्लेख्य अनुभव बटुलिसकेका छन् । ‘
उनले ४७ खेलमा १ शतक र ४ अर्धशतकसहित ९१७ रन बनाएका छन्। एसियाली खेलकुदमा मल्लले मंगोलियाविरुद्ध अविजित १३७ रन बनाएका थिए। उनले ३४ बलमा शतक हानेका थिए। त्यस्तै ३९ एकदिवसीय खेलमा उनले ७६८ रन बनाएका छन् । उनले ओडीआई २४ र ट्वान्टी-२० अन्तर्राष्ट्रियमा गरी १९ विकेटसमेत लिएका छन् ।
डेजर्ट भाइपर्स पहिलो संस्करणको इन्टरनेसनल लिग टी-२० को उपविजेता टिम हो। २०२५ को संस्करणको पहिलो खेलमा भाइपर्सले आबुधाबी नाइटराइडर्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ। डेजर्ट भाइपर्समा एलेक्स हेल्स, कोलिन मुनरो, रोहन मुस्तफा, वानिन्दु हसरङ्गा, सेरफाने रदरफोर्ड. सेल्डन कोटरेल, टम कुरान, साम बिलिङ्स. ल्युक वुड, दिनेश चण्डिमाल, रुबेन ट्रम्पलम्यानलगायतका विश्वचर्चित क्रिकेटर सहभागी छन्।
मल्लले एक दिवसीय र टीट्वान्टी दुवैमा एक शतक र चार अर्धशतक प्रहार गरेका छन्। त्यस्तै उनी हालै सम्पन्न नेपाल प्रिमियर लिगमा चितवन राइनोजका क्याप्टेन थिए। उनले एनपीएलमा आठ खेलमा २२३ रन र नौ विकेट लिएका थिए।