देशकै ठूलो भन्सारबाट घट्यो नेपाल भित्रिने जिप, कार र भ्यानको आयात

हिमाल प्रेस ९ पुष २०८१ ८:४६ | Tuesday, December 24, 2024
देशकै ठूलो भन्सारबाट घट्यो नेपाल भित्रिने जिप, कार र भ्यानको आयात

पर्सा- देशकै ठूलो भन्सार वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपांग्रे सवारीसाधनको आयात घटेको छ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा ९२ करोड तीन लाख ३६ हजार मूल्य पर्ने ४८२ जिप, कार र भ्यान आयात भएका छन्। गत आवको पाँच महिनाका तुलनामा चालु आवको सोही अवधिमा संख्याको आधारमा ३८ दशमलव १३ प्रतिशत र राजस्वको आधारमा १६ दशमलव ४३ प्रतिशतले सवारीसाधनको आयात घटेको हो।

गत आवको सोही अवधिमा एक अर्ब २० करोड १४ लाख दुई हजार मूल्य पर्ने ७७९ वटा जिप, कार र भ्यानको आयात भएको थियो। ती सवारीसाधन आयात हुँदा कार्यालयले दुई अर्ब ८० करोड ९१ लाख राजस्व संकलन गरेको थियो।

इन्धनबाट चल्ने जिप, कार र भ्यानको मात्रै नभएर वीरगन्ज नाका हुँदै भित्रिने चारपांग्रे विद्युतीय सवारीसाधनको पनि आयात घटेको भन्सारको तथ्यांक्ले देखाएको छ।

चालु आवको पाँच महिनामा यो नाका हुँदै १४ करोड ७८ लाख ६ हजार मूल्य पर्ने ९७ विद्युतीय जिप, कार र भ्यानको आयात भएको छ। गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा विद्युतीय सवारीसाधनको संख्याका आधारमा आयात ५९ दशमलव ०७ प्रतिशत र राजस्व संकलनका आधारमा भने ५८ दशमलव ६३ प्रतिशतले गिरावट आएको छ।

गत आवको सोही अवधिमा भने ४६ करोड ५८ लाख ५३ हजार मूल्य पर्ने २३७ वटा विद्युतीय जिप, कार र भ्यानको आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा कार्यालयले २० करोड ३५ लाख ५८ हजार राजस्व संकलन गरेको थियो। रासस

प्रकाशित: ९ पुष २०८१ ८:४६ | Tuesday, December 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast