एनपीएल : जनकपुर बोल्ट्सलाई १ करोड १० लाख, ऐरीलाई कार

हिमाल प्रेस ६ पुष २०८१ १७:३१
32
SHARES
एनपीएल : जनकपुर बोल्ट्सलाई १ करोड १० लाख, ऐरीलाई कार

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) प्रथम संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख पुरस्कार पाएको छ। शनिबार फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि हात पारेको जनकपुर बोल्ट्सले यो राशीको पुरस्कार प्राप्त गरेको हो।

त्यस्तै प्रतियोगितामा दोस्रो भएको सुदूरपश्चिम रोयल्सले ५१ लाख नगद पुरस्कार प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको कर्णाली याक्सले २५ लाख पुरस्कार पाएको छ।प्रतियोगितामा चौथौँ स्थानमा रहेको चितवन राइनोजले १५ लाख पुरस्कार प्राप्त गरेको छ।

कसले के पाए?

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बनेका छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएका उनले ओमोडा ई–५ कार पुरस्कारस्वरूप पाएका छन्।

नेपाली बजारमा यो गाडीको मूल्य ६२ लाख रूपैयाँ कायम छ।

सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पु¥याउन ऐरीले अलराउन्ड प्रदर्शन गरेका थिए। उनले ९ खेलमा २२७ रन बनाउँदै ८ विकेट लिए।

त्यस्तै अन्तराष्ट्रि खेलाडीतर्फ सैफ अलि जैबलाई ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषणा गरिएको छ। २७५ रन बनाएका उनले १२ विकेट पनि लिएका थिए।

१६ वर्षीय विपिन शर्मा ‘इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भए। कर्णाली याक्सतर्फबाट खेलेका उनले ५० हजार रूपैयाँ पुरस्कार पाए।

एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सका लाहिरू मिलिन्थाले सर्वाधिक २८६ रन बनाएका छन्।

त्यस्तै रवि बोपाराले २८६, रोहित पौडेलले २७९ र जिमी निसमले २४७ रन बनाए।

त्यस्तै जनकपुरका ललितनारायण राजवंशी प्रतियोगिताको उत्कृष्ट बलर बनेका छन्। उनले अल्ट्राभायलेट एफ ७७ मोडलको मोटरसाइकल पुरस्कार प्राप्त गरे।

फाइनल खेलमा ‘प्लेयर अफ द म्याच’ लाहिरू मिलिन्था घोषित हुँदा लुम्बिनीलाई ‘फेयर प्ले अवार्ड’ दिइएको छ।

प्रकाशित: ६ पुष २०८१ १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast