काठमाडौँ- फिल्म ‘फेरि रेशम फिलिली’ फागुन १४ अर्थात् महाशिवरात्रीको अवसरमा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै फागुन १४ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्र अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्टलाई देख्न सकिन्छ। अभिनेता विनय ९ वर्षअघि प्रदर्शन भएको फिल्म ‘रेशम फिलिली’कै लुक्स र गेटअपमा देखिएका छन्।
पोस्टरमा सुपुष्पाले मुस्कुराउँदै हातमा रातो गुलाब लिएकी छन् भने विनयले आकाशतिर हेर्दै हात जोडेका छन्। पोस्टरमार्फत उनीहरुबीचको प्रेम दर्शाउन खोजिएको छ। ‘रेशम फिलिली’ मा विनयको जोडी अभिनेत्री मेनुका प्रधानसँग बाँधिएको थियो।
निरोज महर्जनको निर्देशनमा बनेको फिल्ममा आकाश बरालको पटकथा लेखन छ। फिल्ममा विनय र सुपुष्पासहित नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायत कलाकारको अभिनय छ।
फिल्ममा रौनक विक्रम कडेलको लगानी गरेका छन्। सुसन प्रजापतीले छायांकन गरेको फिल्म निर्देशक महर्जन र नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीतमा बनेको छ।
फिल्मको सम्पादन सुरेन्द्र पौडेलले गरिरहेका छन्। सिनेमा आर्टसकाे प्रस्तुति र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्मकाे सह-निर्माताको रुपमा एनी थापा छन्।