
खोटाङ- नेपाल पत्रकार महासंघ खोटाङ शाखामा अध्यक्षसहित सबै पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको सहमतिपछि सर्वसम्मत गरिएको हो।
अध्यक्षमा हरिबोल आचार्य, उपाध्यक्षमा चिसाङ शेर्पा र सविना अछामे परियार, सचिवमा राजकुमार भट्टराई, सहसचिवमा मनोज आचार्य र राजन ठटाल तथा कोषाध्यक्षमा उजुर राई निर्विरोध चयन भएका छन्।
११ सदस्यीय कार्यसमितिमा कृष्णकला राई, सुनिल श्रेष्ठ, खिलन राई र सन्तोष पौडेल सदस्यमा निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कृष्ण आचार्यले जानकारी दिए।
विधानअनुसार यहाँ १३ सदस्यीय जिल्ला कार्यसमिति हुनुपर्नेमा मधेशी र दलित कोटामा कसैको पनि उम्मेदवारी नपरेको जनाइएको छ।
यस्तै प्रदेश परिषद् सदस्य र केन्द्रीय परिषद् सदस्यमा उम्मेदवारी दिने उम्मेदवारहरूसमेत सर्वसम्मत निर्वाचित भएका छन्।
प्रदेश परिषद्मा केदार मगर, उत्तम चौलागाईँ र लोकमणि रिजाल तथा केन्द्रीय परिषद्मा दिलीप खत्री निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत एवम् नेपाल पत्रकार महासंघ खोटाङका पूर्वअध्यक्ष दमन राईले जानकारी दिए।