 
                             
                                            बुटवल– रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा ‘नेपाल-इन्डिया ब्याटेलेशन लेभल ज्वाइन्ट ट्रेनिङ एक्सरसाइज’ सम्पन्न भएको छ। उक्त अभ्यास बिहीबार बलाधिकृत रथी सरोजप्रताप राणाले समापन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
अभ्यासमा विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषय समावेश गरी सञ्चालन भएको थियो। उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्ले र भारतीय सेनाबाट प्रमुख सेनानी हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४/३३४ सकलदर्जा सहभागी भएका थिए।
समापन समारोहमा बलाधिकृत रथी राणाले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकामा सहभागी सैनिकलाई बधाई दिँदै तालिमप्रति देखाएको समर्पण, उत्सुकता र कडा परिश्रमले भविष्यमा आइपर्ने जस्तोसुकै चुनौतीलाई प्रभावकारी ढंगले समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। सहभागी दुवै देशका सैनिकलाई प्रमाण पत्रसमेत उनले प्रदान गरे।
समापन कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी बाबुराम श्रेष्ठ, मध्यपश्चिम पृतनाका पृतनापति उपरथी यामप्रसाद ढकाल नम्बर ३ बाहिनीपति एवम् संयुक्त अभ्यासका अभ्यास निर्देशक सहायक रथी प्रेमबहादुर पुन, नम्बर २२ बाहिनीपति सहायक रथी नवराज गुरुङ, नेपालका लागि भारतीय सैनिक सहचारी प्रमुख सेनानी अमित शर्मा, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा रुपन्देही जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए।
संयुक्त सैनिक अभ्यासले दुई देशबीच कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढीप्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा आधारभूत सैनिक सिपको विकास हुनुको साथै आपसी समझदारीमा अभिवृद्धि हुने नेपाली सेनाले विश्वास लिएको छ। तालिम यही पुस १ गतेबाट सुरु भएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 