काठमाडौँ- कीर्तिपुर नगरपालिकाका निर्वाचित मेयर कांग्रेस उम्मेदवार कृष्णमान डंगोललाई प्रमाणपत्र प्रदान गरिएको छ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुरमा निर्वाचन आयोगका प्रतिनिधिहरुले नवनिर्वाचित मेयर डंगोललाई प्रमाणपत्र प्रदान गरेको हो। आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डंगोल ५ हजार ३ सय ३४ मत ल्याई विजयी हुनुभएको थियो।
प्रमाणपत्र ग्रहण गरेपछि नवनिर्वाचित कीर्तिपुर नगर प्रमुख डंगोलले नगरका सबैलाई विश्वासमा लिएर दुई वर्षभित्र पाँच वर्षमा गर्नुपर्ने काम गर्ने बताए। आफ्ना कार्यकालमा जनतालाई प्रत्यक्ष महसुस हुने काम गर्ने र जनताको मत खेर जान नदिने उनले बताए।
यसअघि २०७९ को निर्वाचनमा कांग्रेसबाटै निर्वाचित मेयर राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि कीर्तिपुरमा उपचुनाव भएको हो।