काठमाडौँ- केही दिनअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अहिले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन अफर गरिरहेको’ बताएपछि माओवादी केन्द्रले भनाइमा सत्यता नभएको बताइरहेको छ।
थापाले कीर्तिपुरको चुनावी सभाबाट अफरको विषय खोतलेपछि माओवादी केन्द्र भनाइ पुष्टि गर्न दबाब दिइरहेको छ। प्रचण्डको सचिवालयले थापाको भनाइमा सत्यता नभएको बताइसकेको छ। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सन्जालमार्फत भनाइको खण्डन गर्दै सोही भनाइ थापाको मनोदशा रहेको आरोप लगाएका थिए।
उनले माओवादीले अब कसैलाई प्रधानमन्त्री नबनाइदिने दाबी पनि गरे। यसपछि अन्य नेताले पनि थापाको भनाइलाई आपत्ति जनाइरहेका छन्।
नेकपा माओवादीका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले प्रचण्डले देउवालाई प्रधानमन्त्री ‘अफर’ गरेको भन्ने कांग्रेस महामन्त्री गगन थापाको भनाइप्रति आपत्ति जनाएका छन्।
गृहजिल्ला रोल्पामा शुक्रबार आयोजित सहिद प्रतिष्ठानको प्रथम साधारण सभालाई सम्बोधन गर्दै पुनले भ्रमपूर्ण प्रचार नगर्न भनेका हुन्।
‘हाम्रो अध्यक्ष प्रचण्डले कहिले र कोमार्फत देउवाजीलाई प्रधानमन्त्री अफर गर्नुभयो, त्यो पुष्टि गर्न गगन थापाजीलाई मेरो चुनौती छ,’ पुनले भने, ‘आफूहरूको गठबन्धन लामो समय नजाने देखेपछि कांग्रेस(एमाले दुवैले हामीलाई देखाएर बार्गेनिङ पावर बढाउन खोजिरहेका छन्। गगनजीले केपी ओलीसँग बार्गेनिङ पावर बढाउन हुँदै नभएको हास्यास्पद दाबी गर्नुभएको छ।’
उनले आफूहरूको प्राथमिकता सरकार नभएको भन्दै मुलुक र जनताको हितमा राम्रो काम गरेर देखाउन कांग्रेस(एमाले गठबन्धनलाई आग्रह पनि गरे।
आफूहरू कम्तीमा प्रतिनिधि सभाको यो कार्यकालभरि प्रतिपक्षमा बसेर कांग्रेस(एमाले सरकारको बेथिति, भ्रष्टाचार र कुशासन विरूद्ध जनतालाई सचेत र जागरूक बनाउने काममा लाग्ने उनको भनाइ थियो।
‘हामीलाई अहिले सरकारतिर हेर्नु छैन। भ्रष्टाचार र विकृतिको गजमा उभिएको यो सरकारलाई जनताले नै उखालेर फाल्ने दिन आउँछ,’ पुनले भने, ‘सुशासनको अभियान विरूद्ध भ्रष्टहरू जोगाउने स्वार्थले बनेको सरकार आफै कुहिएर झर्छ।’
उनले आफूहरू प्रतिपक्षमा बसेर सकरारका खराब कामप्रति औंला उठाउने र सुशासन, संविधान, संघीयता, समावेशिता, राष्ट्रियताको पक्षमा र कुशासन र भ्रष्टाचारका विरूद्धमा जनतालाई संगठित, जागरूक र आन्दोलित बनाउने बताए।
कीर्तिपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्डले हप्तामा एकपटक आफ्ना सभापति देउवालाई प्रधानमन्त्री बनिदिन खबर पठाउने गरेको अभिव्यक्ति दिएका थिए।