निर्वाचन आयोगले भन्यो : चुनाव हुने स्थानमा शंकास्पद व्यक्तिलाई प्रवेश नदिनू

हिमाल प्रेस १३ मंसिर २०८१ १५:५३ | Thursday, November 28, 2024
निर्वाचन आयोगले भन्यो : चुनाव हुने स्थानमा शंकास्पद व्यक्तिलाई प्रवेश नदिनू

काठमाडौँ- निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ।

आयोगको बिहीबार बसेको बैठकपछि जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता पालना गर्न र गराउन सबै सरोकारवालाहरूलाई स्मरण गर्दै चुनाव हुने स्थानीय तहमा शंकास्पद व्यक्तिको प्रवेश निषेध र उनीहरूका गतिविधिमा उच्च निगरानी गर्न समेत सरकारलाई निर्देशन दिइएको छ।

‘उपनिर्वाचन हुने स्थानीय तहमा अनधिकृत एवं शंकास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्ने, सूक्ष्म ढङ्गले अनुगमन गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनियतामा आँच आउने कुनै कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शङ्का लागेमा वा कुनै सूचना प्राप्त भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्न नेपाल सरकार गृह मन्त्रालयमार्फत निर्देशन दिइएको छ’, आयोगले भनेको छ।

आयोग प्रवक्ता नीता पोखरेलले जारी गरेको विज्ञप्तिमा निर्वाचनका क्रियाकलापहरूमा परिचालन हुने कर्मचारी सुरक्षाकर्मीहरूबाट सबै उम्मेदवार र राजनीतिक दलहरूप्रति समान व्यवहार गर्न निर्देशन दिइएको उल्लेख छ। उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ।

प्रकाशित: १३ मंसिर २०८१ १५:५३ | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast