नेपाल–युएईबीच व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्न उच्च महत्वका साथ काम भइरहेको छ : दूतावास

हिमाल प्रेस ७ मंसिर २०८१ १९:४९ | Friday, November 22, 2024
नेपाल–युएईबीच व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्न उच्च महत्वका साथ काम भइरहेको छ : दूतावास

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले नेपालको निर्यात व्यापारलाई प्रवद्र्धन गर्दै नेपाल र युएईबीचको व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने गरी दूतावासले काम गरिरहेको बताएका छन्।

अबुधावीस्थित दूतावासमा आयोजित निर्यात प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै क्षेत्रीले व्यवसायीहरूबाट प्राप्त सुझावलाई सकारात्मक रूपमा लिँदै दूतावासले सधैँ सहयोगीको भूमिका निर्वाह गरेको बताए।

नेपाल उद्योगी व्यवसायी प्रतिनिधिमण्डल र गैरआवासीय नेपाल संघ युएई, नेपाल बिजनेस काउन्सिल युएई तथा युएईमा रहेका उद्योगी एवं व्यवसायी सहभागी रहेको कार्यक्रममा व्यापार घाटालाई कम गर्दै नेपालको निर्यात बढाउने विषयमा छलफल भएको थियो।

युएई बजारमा नेपाली उत्पादनका सामग्रीहरू सहजरूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै सहभागीहरूले महत्वपूर्ण सुझाव दिएका थिए।

युएईको बजारमा नेपाली उत्पादनका सामग्रीहरूको प्रचुर सम्भावना रहेको र निर्यातको क्षेत्रमा हाल देखा परेका चुनौति र भविष्यमा दुई देशबीच अपनाउनुपर्ने कानुनी तथा नीतिगत उपायहरू बारे सहभागीहरूले सुझाव दिएका थिए।

कार्यक्रममा नेपाली व्यवसायी प्रतिनिधिमण्डल, गैरआवासीय नेपाली संघ युएई, नेपाल बिजनेस काउन्सिल युएई, विभिन्न उद्योगी व्यवसायी तथा नेपाली दूतावास परिवारसहित करिब ६० जनाको सहभागिता रहेको थियो।

त्यस्तै १७ देखि २० नोभेम्बरसम्म दुबईमा आयोजना भएको ‘मिडल इस्ट अर्गानेकि एन्ड नेचुरल प्रोडक्ट एक्सपो–२०२४’ मा नेपाल उद्योग वाणिज्य महासंघको संयोजकत्वमा नेपाल निर्यात व्यवसायी महासंघलगायत ३३ व्यवसायीहरू सहभागी भएको दूतावासले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०८१ १९:४९ | Friday, November 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast