सहमति नपाउँदा भारत नगएका ती मुख्यमन्त्री र लाज पचाएरै बिनानिमन्त्रणा पुगेका यी मुख्यमन्त्री

धैर्यकान्त दत्त ५ मंसिर २०८१ २१:१९
336
SHARES
सहमति नपाउँदा भारत नगएका ती मुख्यमन्त्री र लाज पचाएरै बिनानिमन्त्रणा पुगेका यी मुख्यमन्त्री मुख्यमन्त्री सतिशकुमार सिंह, पूर्वमुख्यमन्त्री लालबाबु राउत र सरोजकुमार यादव ।

काठमाडौँ- मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले झण्डोत्तलनसम्बन्धी एक कार्यक्रममा सहभागी हुन भारतीय पक्षबाट निमन्त्रणा पाएका थिए। सहभागी हुनुपर्ने स्थान राउतको गृहनगर वीरगञ्जबाट करिब एक डेढ घण्टाको दूरीमा थियो।

विदेशी भूमिको कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले कूटनीतिक मर्यादाअनुसार उनले परराष्ट्र मन्त्रालयबाट सहमति मागे। परराष्ट्र मन्त्रालयले उनलाई सहमति दिएन। राउत भारतमा आयोजना भएको झण्डोत्तलन कार्यक्रममा सहभागी भएनन्।

अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान रामको प्रतिमाको प्राणप्रतिष्ठाका लागि जनकपुरधामबाट भार (पाहुर) पठाउने कार्यक्रम थियो। मुख्यमन्त्री थिए, सरोजकुमार यादव। यादव जानकी मन्दिरको प्राङ्गणमा उपस्थित भएर भार लिएर जाने टोलीलाई बिदाइ गरे। तर आफैँ अयोध्या गएनन्। कार्यक्रममा सहभागी हुने औपचारिक निमन्त्रणा नआएपछि उनी अयोध्या गएनन्।

जनकपुरधाम र अयोध्याबीच प्राचिनकालदेखि धार्मिक र सांस्कृतिक सम्बन्ध कायम छ। त्रेतायुगमा भगवान राम र सीताको विवाह भएको मान्यताअनुसार दुवै ठाउँबीच प्रगाढ सम्बन्ध रहिआएको हो। पछिल्लो समय अयोध्यामा राम मन्दिर निर्माण भइसकेपछि जनकपुरधाम र अयोध्या आउजाउ गर्ने श्रद्धालुहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

दुवै स्थानको सम्बन्धलाई थप मजबुत बनाएको छ, हरेक वर्ष जनकपुरधाममा मनाइने रामजानकी विवाहोत्सव समारोहले। मिथिला परम्पराअनुसार हरेक वर्ष सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी जनकपुरधाममा विवाहोत्सव समारोह मनाइन्छ। साताव्यापी कार्यक्रममध्येको एक हो, तिलकोत्सव। यसअघि सधैँ जनकपुरधाममा मनाइने तिलकोत्सव कार्यक्रम पहिलोपटक अयोध्यामा मनाइएको छ। विश्व हिन्दू परिषद् धनुषाको अगुवाइमा त्यहाँ तिलकोत्सव कार्यक्रम मनाइएको हो।

विश्व हिन्दू परिषद्ले आयोजना गरेको तिलकोत्सव कार्यक्रममा सहभागी हुन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पनि अयोध्या पुगे। कार्यक्रममा सहभागी हुन उनले परराष्ट्र मन्त्रालयको सहमति लिएनन् नै, अयोध्याबाट औपचारिक निमन्त्रणासमेत पाएका थिएनन्।

पाँच वर्ष मधेश प्रदेश सरकारको नेतृत्व गरेका तत्कालीन मुख्यमन्त्री राउत मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादाविपरीत काम गरेको टिप्पणी गरेका छन्। भारत र नेपालबीच सदियौँदेखि धार्मिक तथा सांस्कृतिक सम्बन्ध भए पनि मुख्यमन्त्रीको हैसियतमा भ्रमण गर्दा कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने उनले बताए।

‘मुख्यमन्त्रीको हैसियतमा विदेश भ्रमण गर्नुअघि धेरै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ,’ राउतले हिमालप्रेससँग भने,‘त्यसो गरेको देखिएन। बिनानिमन्त्रणा गएका कारण भारतीय पक्षबाट सम्मान दिएको पाइएन। कूटनीतिक मर्यादालाई ख्याल राखेर गएको भए ठीक हुने थियो।’

भारत मित्र राष्ट्र भए पनि फरक देश भएकाले संघीय सरकारको सहमति नलिई भ्रमणमा जानु उपयुक्त नभएको उनको भनाइ छ। केही वर्षअघि भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर भ्रमणमा आउँदा भारत सरकार र परराष्ट्र मन्त्रालयले आफूहरूलाई औपचारिक जानकारी गराएको उनले उल्लेख गरे।

‘योगी आदित्यनाथ जनकपुर आउँदा प्रदेश सरकारलाई औपचारिक जानकारी गराइएको थियो, परराष्ट्र मन्त्रालय र भारतीय पक्षले हामीलाई लिखित जानकारी नै गराएको थियो,’ आदित्यनाथको जनकपुर भ्रमण स्मरण गर्दै राउतले भने, ‘हामीले उनको भव्य स्वागत गरेका थियौँ, दुई हजार जनाका लागि खाना नै बनाउन लगाएको थियौँ।’

प्रदेशको मुख्यमन्त्रीको हैसियतमा विदेश भ्रमण गर्दा संघीय सरकारमार्फत भ्रमण गर्ने सम्बन्धित मुलुकलाई औपचारिक जानकारी गराउनुपर्ने कूटनीतिक परम्परा रहेको उनले बताए। ‘मुख्यमन्त्रीजस्तो व्यक्तिले विदेश भ्रमण गर्दा प्रोटोकललाई ध्यान दिन जरूरी हुन्छ,’ राउतले व्यंग्यात्मक शैलीमा भने, ‘हामी सिक्दै छौँ, अहिलेको मुख्यमन्त्रीजी त झनै नयाँ हुनुहुन्छ।’

मुख्यमन्त्री सिंहले अयोध्या भ्रमणका क्रममा सम्मान र सत्कार नपाउनुमा प्रक्रिया पूरा नगर्नु मुख्य कारण रहेको उनको बुझाइ छ। मधेशका निवर्तमान मुख्यमन्त्री यादवले बिनानिमन्त्रणा अयोध्या पुगेर मुख्यमन्त्री सिंहले देश र प्रदेशकै गरिमा गिराउने काम गरेको बताए।

‘बिनानिमन्त्रणा किन जानुपर्‍यो? बजेट आएको पाँच महिना भइसक्यो, अहिलेसम्म कार्यविधि बनाउने काम भएको छैन, सरकारले गर्नुपर्ने यत्रो काम छ, त्यतातिर ध्यान छैन,’ यादवले भने, ‘बिनानिमन्त्रणा अयोध्या गएर प्रदेशको मात्रै देशकै गरिमा खतम गर्ने काम भएको छ।’

मुख्यमन्त्री व्यक्ति नभएर संस्था भएको बताउँदै उनले बिनानिमन्त्रणा जाने काम कूटनीतिक मर्यादाविपरीत भएको जिकिर गरे। ‘बिनानिमन्त्रणा त हामी आफन्तकै घरको कुनै कार्यक्रममा सहभागी हुँदैनौँ, सानोठूलो जे भए पनि यो त दुई देशको कुरा हो, पदीय मर्यादा र गरिमाको विषय हो,’ निवर्तमान मुख्यमन्त्री यादवले भने, ‘प्रक्रिया नपुर्‍याई अयोध्या पुगेर मुख्यमन्त्रीले ठूलो गल्ती गर्नुभएको छ।’

राम मन्दिरमा भगवान् रामको प्रतिमाको प्राणप्रतिष्ठामा सहभागी हुन आफूलाई दबाब दिइए पनि अयोध्या नगएको उनले बताए। यादवले भने, ‘प्राणप्रतिष्ठाका बेला सबैले म जानुपर्छ भनेर जिद्दी गरेका थिए। म मुख्यमन्त्री थिएँ। औपचारिक निमन्त्रणा आएको थिएन। जनकपुरबाट भार पठाएँ तर अयोध्या गइनँ।’ यादवले प्रदेशसभा बैठक बसेपछि यो विषय आफूहरूले गम्भीरताका साथ उठाउने उल्लेख गरे।

बिनासहमति र बिनानिमन्त्रणा कार्यक्रममा सहभागी भएपछि मुख्यमन्त्री सिंहको अयोध्या भ्रमण विवादित बनेको छ। उनको यो भ्रमणप्रति प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेस रूष्ट बनेको छ भने प्रमुख विपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले देश र प्रदेशको बेइज्जत गर्ने काम भएको प्रतिक्रिया दिएको छ।

गठबन्धनको सरकारको नेतृत्व गरिरहेका सिंहले अयोध्या भ्रमण जाने विषयमा सत्तासाझेदार दलहरूसँग छलफल गरेका थिएनन्। गठबन्धनमा छलफल नगर्नुका साथै संघीय सरकारसँग समन्वय नगरी अयोध्या भ्रमण गरेकोप्रति कांग्रेसले असन्तुष्टि जनाएको हो।

औपचारिक निमन्त्रणाबिनै अयोध्या पुगेर मुख्यमन्त्री सिंहले प्रदेशको अवहेलना गराएको कांग्रेसको टिप्पणी छ। मुख्यमन्त्रीको अयोध्या भ्रमणबारे गठबन्धनमा गम्भीरताका साथ उठाइने कांग्रेसले बताएको छ।

त्यस्तै जसपा नेपालले पनि पदीय मर्यादाको ख्याल नगरी अयोध्या भ्रमणमा गएर मुख्यमन्त्री सिंहले देश र प्रदेशको गरिमा गिराउने काम गरेको आरोप लगाएको छ।

मुख्यमन्त्री सिंहको अयोध्या भ्रमण विवादित : सत्ता गठबन्धन रुष्ट, विपक्षी भन्छ – प्रदेशकै बेइज्जत भयो

परराष्ट्रबाट सहमति नलिई अयोध्या पुगेका मुख्यमन्त्री सिंहले बाँडे विवाहपञ्चमीको निमन्त्रणा

परराष्ट्र मन्त्रालयबाट सहमति नलिई अयोध्या हिँडे मुख्यमन्त्री सिंह

प्रकाशित: ५ मंसिर २०८१ २१:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast