एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँ : स्वास्थ्यमन्त्री

हिमाल प्रेस ४ मंसिर २०८१ १३:५५
8
SHARES
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँ : स्वास्थ्यमन्त्री स्वास्थ्यमन्त्री प्रदीप पौडेल
पर्वत- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन्।पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले औषधिमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गर्न थालिएको बताए।

सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्यसूचीका आधारमा मुलुकभर औषधि खरिद बिक्री हुने र बिरामी ठगिन नपर्ने उनको भनाइ छ। उनले औषधिको मूल्य समायोजनको कार्य अन्तिम चरणमा पुगेको बताए।

मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए। विपन्न र असहाय नागरिकले पनि सहज रुपमा सबैखाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन र उपचारको अभावमा कोही पनि अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रको सुधारका काम भइरहेको उनको भनाइ छ।

मन्त्री पौडेलले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमलाई परिमार्जन गर्ने तयारी भइरहेको बताए। उनले तत्कालीन अवस्थामा एक लाख रुपैयाँको स्वास्थ्य बिमा रहेकामा अब यसलाई बढाएर पाँच लाख रुपैयाँ पुर्‍याउने योजना रहेको बताए।

उनले यसका लागि रोजगारीमा आबद्ध कर्मचारीबाट मासिक तलबको दुई प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गर्ने व्यवस्था गरिनुपर्ने बताए। यसबाट पैसा नभएकाको पनि उपचार गर्न सहज हुने उनको भनाइ छ।

सरकारले उठाउने सबैखाले करमा पनि शून्य दशमलव पाँच प्रतिशत बिमा कोषमा जाने व्यवस्था गरिनुपर्ने भन्दै उनले अहिले उठ्ने स्वास्थ्य बिमा करलाई तेब्बर बनाउनुपर्ने बताए। मन्त्री पौडेलले मुलुकभरीका १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउने व्यवस्था गरिएको जनाउँदै अहिले खोप भण्डारणको काम भइरहेको बताए। त्यस्तै १४ वर्ष मुनिका बालबालिकाको क्यान्सरको निःशुल्क उपचार गरिने जस्ता कार्यक्रमले धेरै लाभान्वित भएको बताए।

अर्को प्रसंगमा मन्त्री पौडेलले स्रोतको अभावका कारण स्वास्थ्य क्षेत्रलाई चाहेअनुरूप विकास गर्न नसकिएको बताए। उनले स्रोतको व्यवस्थापन गरेर स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र सर्वसुलभ बनाउँदै लजाने योजना समेत सुनाए। रासस

प्रकाशित: ४ मंसिर २०८१ १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast