काठमाडौँ- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाे मेयर पदकाे उम्मेदवार टुंगो लगाएको छ।
आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसले कीर्तिपुर महानगरपालिकाको मेयर पदका उम्मेदवारको टुंगो लगाएको हो।
कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस बागमती प्रदेश समितिको शनिबार बसेको बैठकले डंगोललाई मेयरकाे उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए।
मेयर पदका उम्मेदवार बनाइएको डंगोल नगर समिति सभापति हुन्। कीर्तिपुरको मेयरकाे उम्मेदवारका लागि कांग्रेसबाट ११ जनाको नाम सिफारिस भएको थियो।
मेयरकाे उम्मेदवारका लागि डंगोलसहित बद्रीलाल महर्जन, हिमाल कार्की, जनुना नकर्मी (पूर्वमेयर राजकुमारकी श्रीमती), संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम बागमती प्रदेश कार्यसमितिमा सिफारिस भएको थियो।
मेयरकाे टिकटका लागि डंगोलका साथै हिमाल कार्कीले जोडबल गरेका थिए। तर,प्रदेश कार्यसमितिले नगरसभापतिसमेत रहेका डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। डंगोल नेता प्रकाशमान सिंह र कार्की राजन केसी निकट मानिन्छन्। केसी पनि प्रकशमान निकट नै मानिन्छन्।
कांग्रेस विधानमा नगरपालिकाको निर्वाचनमा प्रमुखलाई टिकट सम्बन्धित प्रदेश कार्यसमितिले दिने र टिकटमा हस्ताक्षर सभापतिको रहने व्यवस्था छ।
२०७९ वैशाखकको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयर पदमा निर्वाचित राजकुमार नकर्मीको २०८१ साउनमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
कीर्तिपुरको मेयरमा नेकपा (एमाले) ले सुरेन्द्र मानन्धर, नेकपा (माओवादी केन्द्र) ले शिवशरण महर्जन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धु्रव महर्जनलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ।