मञ्चमा फर्कियो मह जोडी

हिमाल प्रेस १ मंसिर २०८१ १७:३१ | Saturday, November 16, 2024
मञ्चमा फर्कियो मह जोडी

काठमाडौँ– नेपालको हास्य–व्यङ्ग्य विधामा विशिष्ट स्थान बनाउन सफल जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशकपछि पुनः मञ्चमा फर्किएका छन्। ‘मह जात्रा’ प्रहसनमार्फत पुनः मञ्चमा फर्किएका महलाई हेर्न काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा दर्शकको भीडभाड छ।

कार्यक्रममा सबै वर्ग र समूहका दर्शकको उपस्थिति देखिएको र महको प्रस्तुतिमा रमाएको कलाकार किरण केसीले जानकारी दिए। ‘कार्यक्रममा दर्शकहरूको भीड देख्न पाइयो, जसले यो जोडीप्रतिको दर्शकको माया र सम्मानलाई पुनः एकपटक झल्काएको छ। हामीले विदेशमा समेत यही शीर्षकमा यसै वर्ष कार्यक्रम गरेका थियौँ। विदेशपछि स्वदेशमा पाएको माया अद्भुत छ,’ कलाकार केसीले भने।

यो कार्यक्रमलाई मह जोडीको सम्भावित अन्तिम प्रहसन मानिएको छ। यसमा कलाकार श्रेष्ठको स्वास्थ्य चुनौतीका बाबजुद हास्य–व्यङ्ग्यमा निरन्तरता दिने अठोट र कलाकार आचार्यसँगको अटुट सहकार्यका कारण यो प्रहसन सम्भव भएको कलाकार केसीको बुझाइ छ।

‘मह जात्रा’ ले दर्शकलाई समाजमा विद्यमान समसामयिक मुद्दाहरूलाई हास्यशैलीमार्फत प्रस्तुत गर्दै गम्भीर रूपमा सोच्न प्रेरित गर्नेछ। नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना र सांस्कृतिक कुरीतिहरूलाई गरिएको व्यङ्ग्यलाई दर्शकले रुचाएका छन्।

प्रहसनमा कलाकार राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले र विभुषा बस्नेतले पनि आफ्नो प्रस्तुति दिइरहेका छन्।

मह सञ्चार र सुश्री मिडिया प्रालिको सहकार्यमा प्रस्तुत यो कार्यक्रम ‘मह जात्रा’ ले दर्शकलाई हँसाउने मात्र होइन, समाजप्रति नवीन दृष्टिकोण राख्न प्रेरित गर्ने विश्वास आयोजकको छ। मीरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम कात्तिक २९ गतेदेखि सुरु भएको ‘मह जात्रा’ मङ्सिर १, ४, ५, ६, १२, १३, १७ र १८ सम्म चल्नेछ।

प्रकाशित: १ मंसिर २०८१ १७:३१ | Saturday, November 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast