स्वामीकात्तिक गाउँपालिकामा पाँच दलले टुंग्याए उम्मेदवार

हिमाल प्रेस ३० कार्तिक २०८१ १६:२८ | Friday, November 15, 2024
स्वामीकात्तिक गाउँपालिकामा पाँच दलले टुंग्याए उम्मेदवार

बाजुरा- आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि यहाँका राजनीतिक दलहरुले उम्मेदवार टुंगो लगाएका छन्। स्वामीकात्तिक खापर गाउँपालिकामा हुने उपाध्यक्ष पदको निर्वाचनका लागि पाँच दलले उम्मेदवारको टुंगो लगाएका हुन्।

विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिकाकी उपाध्यक्ष मैनादेवी जोशीको विसं २०८० माघ ४ गते निधन भएको थियो। उक्त पदका लागि हुन लागेको उप निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा समाजवादी पार्टीले उम्मेदवार टुंगो लगाएका हुन्।

नेपाली कांग्रेसले पुल्तीसरा शाही, नेकपा (एमाले) ले सुलोचना भण्डारी (बुढा), नेकपा (माओवादी केन्द्र) ले राजु विक, राप्रपाले सुनादेवी थापा (भोटे) र नेकपा समाजवादी पार्टीले जवा शाहीलाई उम्मेदवार बनाएका हुन्। अघिल्लो निर्वाचनका बेला नेकपा समाजवादी र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो।

उम्मेदवार घरदैलो अभियानमा

राजनीतिक दलले टुंगो लगाएका उम्मेदवारहरू जनतासँग भेटघाट तथा चुनावी अभियान लिएर घरदैलो कार्यक्रममा व्यस्त छन्। गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुने रणनीतिसहित दलका उम्मेदवार र नेता कार्यकर्ता मतदातासँग भेटघाटमा निस्किएका हुन्। उम्मेदवारले मतदातासँग शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतका क्षेत्रमा विकास गर्ने चुनावी प्रतिबद्धता लिएर मत माग्न थालेका छन्।

विरासत फर्काउने दाउमा एमाले 

लगातार ३२ वर्षदेखि एकलौटी रुपमा नेतृत्व गर्दै आएको नेकपा (एमाले) २०७९ को स्थानीय तहको निर्वाचनमा पराजित भएपछि पुनः विरासत फर्काउने उद्देश्यका साथ जुटेको छ। नेकपा विभाजित भएपछि स्वामीकात्तिकमा विरासत गुमाएको एमालेले उपाध्यक्ष पद जित्ने रणनीति बनाएर अघि बढेको नेकपा एमालेका जिल्ला अध्यक्ष लालबहादुर ओलीले बताए।

विसं २०७४ मा नेपाली कांग्रेस पराजित भएको थियो। विसं २०७९ मा कांग्रेसले जितेको हो। अघिल्लो निर्वाचनमा तीन वडा र अध्यक्ष उपाध्यक्षसहित बहुमत प्राप्त नेपाली कांग्रेस भने उपनिर्वाचनमा उपाध्यक्ष पद जोगाउने कसरतमा छ। उक्त गाउँपालिकामा सात हजार चार सय ६० मतदाता संख्या छन्।

प्रकाशित: ३० कार्तिक २०८१ १६:२८ | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast