पर्यटनमन्त्री पाण्डेले आफ्नै पार्टीका सांसद बजगाईंविरुद्ध किन हाले उजुरी?

हिमाल प्रेस ३० कार्तिक २०८१ १५:०८
18
SHARES
पर्यटनमन्त्री पाण्डेले आफ्नै पार्टीका सांसद बजगाईंविरुद्ध किन हाले उजुरी?

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आफ्नै पार्टीका सांसद राजेन्द्र बजगाईंविरूद्ध पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दर्ता गराएका छन्।

बजगाईंले श्रृंखलाबद्ध रूपमा आफूविरूद्ध कूप्रचार गरेको भन्दै पाण्डेले उजुरी दर्ता गरेका हुन्।

अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा कांग्रेसका महासमिति सदस्य तथा गोरखा क्षेत्र नम्बर १ बा प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै श्रृंखलाबद्ध रूपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरूमा कूप्रचार गर्दै आएको पाण्डेले उल्लेख गरेका छन्।

उजुरीमा भनिएको छ,‘नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ। लोकतन्त्र र विधिको शासनमा यसखाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ।’

पाण्डेले मन्त्री पदको सपथ लिएदेखि बजगाईंले आफूविरूद्ध श्रृंखलाबद्ध ढंगबाट कूप्रचार गरेको उजुरीमा उल्लेख गरेका छन्।

‘मन्त्रीको सपथग्रहण भएको मितिदेखि श्रृंखलाबद्ध रूपमा मन्त्रालयको कामकारबाही र मेरो व्यक्तिगत चरित्र र मानमर्यादामा आँच पुग्ने गरी कुत्सित मनसायका साथ घुस/रिसवतजस्ता गम्भीर आरोप लगाई कूप्रचार–प्रसार गर्दै मेरो व्यक्तिगत नैतिक आचरण र ख्यातिमा दोष लगाउनेजस्ता कलुसित, अमर्यादित र गैरकानुनी कार्य गरी आउनुभएको छ। यस कार्यले नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अंगिकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल पुर्‍याएको छ,’ उजुरीमा भनिएको छ।

बजगाईंले एक क्यासिनलाई इजाजत दिँदा मन्त्री पाण्डेले भ्रष्टाचार गरेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए। मन्त्री पाण्डेले आफूमाथि लगाइएका आरोप निराधार रहेको र यसकाविरूद्ध कानुनी बाटो अपनाउने बताएपछि बजगाईंले सामाजिक सञ्जालबाट त्यो पोस्ट हटाएका थिए।

प्रकाशित: ३० कार्तिक २०८१ १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast