साउदीमा सार्वजनिक ठाउँमा तस्बिर र भिडियो खिच्दा पक्राउ पर्छन् नेपाली कामदार

रमेश भारती ३० कार्तिक २०८१ १३:१८
26
SHARES
साउदीमा सार्वजनिक ठाउँमा तस्बिर र भिडियो खिच्दा पक्राउ पर्छन् नेपाली कामदार

काठमाडौँ- एक महिनाअघि साउदी अरेबियामा कार्यरत तनहुँका एक युवक रियाद सहरनजिकैको बगैँचाबाट पक्राउ परे। हाफपाइन्ट लगाएर एकजना महिलासँग तस्बिर र भिडियो खिच्दै गर्दा उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेको साउदीस्थित नेपाली दूतावासका सूचना अधिकारी टोपनारायण गिरीले बताए।

साउदीमा सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी नागरिकले फोटो, चित्र, चिह्न वा वाक्यांश भएको पोसाक लगाएर तडकभडक गर्न पाइँदैन। साथै त्यहाँको कानुनमा सार्वजनिक स्थलमा महिलासँग तस्बिर र भिडियो खिच्न निषेध गरिएको छ।

सार्वजनिक स्थलमा महिलासँग भिडियो र तस्बिर खिचेको आरोपमा एक महिनाअघि पक्राउ परेका ती युवकलाई दूतावासको रोहबरमा दुई हजार रियाल जरिबाना तिरेर छुटाइएको गिरीले जानकारी दिए।  युवतीले आफ्नो इच्छाले फोटो र भिडियो खिचेको बयान दिएका कारण ती युवक जेल जानबाट बचेको गिरी बताउँछन्। ती युवक सपिङ मलमा कार्यरत थिए।

साउदीमा कार्यरत धरानका अर्का युवक भीआईपी सवारी हुँदाको भिडियो र तस्बिर खिच्दा प्रहरी हिरासतमा पुगेका थिए। उनले बाटोमा भीआईपी सवारी भएका बेला तस्बिर र भिडियो खिचेका थिए। तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनलाई तत्काल प्रहरीले पक्राउ गरेको गिरी बताउँछन्। उनी पनि दूतावासको रोहबरमा ३ हजार ७ रियाल जरिबना तिरेर रिहा भएका थिए। ती युवकलाई कानुनविपरीत तस्बिर र भिडियो खिचेका कारण जरिबाना तिराइएको थियो।

गत भदौमा तीजको पहिरन लगाएर सार्वजनिक स्थलमा पुगेकी काठमाडौँकी एक महिलालाई साउदी प्रहरीले पक्राउ गरेको थियो। ती महिलासहित अन्य नेपाली महिलाले दमामको एक होटलमा तीज मनाउने कार्यक्रम राखेका थिए। तीज मनाउन जाने क्रममा होटलअगाडि तस्बिर र भिडियो खिच्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको गिरीले बताए।

उनी पक्राउ परेपछि उनका साथीले तीजको कार्यक्रम स्थगित गरेका थिए। दूतावासले साउदी प्रहरीलाई तीज संस्कृतिबारे जानकारी गराएर छुटाएको गिरीले जानकारी दिए। उनले पनि दूतावासको रोहबरमा सात सय रियाल जरिबाना तिर्नुपरेको थियो।

साउदीमा भीआईपी सवारी, उनीहरूको सवारीसाधन र अनुमतिबिना कसैको भिडियो र तस्बिर खिच्न पाइँदैन। साथै महिलालाई कम्तीमा घुँडा र काँध देखिने पहिरन र जिन्स लगाउन प्रतिबन्ध छ। पछिल्लो समयमा रोजगारीमा पुगेका नेपाली महिलाले जथाभाबी कपडा लगाएर हिँड्दा कानुनी झेमला खेप्नुपरेको दूतावासका सूचना अधिकारी गिरीले बताए।

उनले भने, ‘साउदीको कानुन उल्लंघन हुने गरी सार्वजनिक स्थलमा फोटो खिच्ने, सामाजिक सञ्जालमा लाइभ वा पोस्ट गर्ने जस्ता कार्य गर्दा कडा कानुनी कारबाहीको सामना गर्नुपर्छ।’ दूतावासले यस्ता गतिविधिले साउदी समाजमा गलत प्रभाव पार्ने भएकाले सजग रहन यहाँ कार्यरत नेपालीलाई सूचित गराउँदै आएको उनले जानकारी दिए।

‘साउदी रोजगारीमा आएका कतिपय नेपाली तडकभडक देखाएको आरोपमा कानुनी फन्दामा पर्छन्। जसका कारण उनीहरूले जरिबानासमेत तिर्नुपर्छ। नेपाली कामदारले सुनको सिक्री, ब्रास्लेट र हाफपाइन्ट लगाउँदा यहाँको प्रहरीले पक्रिने गरेको छ’, उनले भने। सार्वजनिक स्थलमा चुरोट र मदिरा सेवन गर्दा कतिपय नेपाली कामदार कानुनी पक्राउ पर्ने गरेका छन्।

प्रकाशित: ३० कार्तिक २०८१ १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast