खेती किसानी

शिक्षण छाडेर कृषिमा लागेका हुमनाथको लोभलाग्दो प्रगति

रमेश भारती २८ कार्तिक २०८१ १२:३२
8
SHARES
शिक्षण छाडेर कृषिमा लागेका हुमनाथको लोभलाग्दो प्रगति तरकारी बारीमा हुमनाथ लामिछाने। तस्बिर : हिमालप्रेस

काठमाडौँ- स्याङ्जा वालिङ नगरपालिका-५ पित्लेकका हुमनाथ लामिछाने शिक्षक पेसा छाडेर कृषि पेसामा संलग्न छन्। उनी दुई दशकअघि गाउँकै नातामा दाइ पर्ने यज्ञप्रसाद लामिछानेको प्रेरणा पाएपछि कृषि कर्मतिर लागेको बताउँछन्। लामिछानेको फार्ममा गोलभेँडा, काउली, बन्दा, काँक्रो, सिमी, बोडी, अकबरे खुर्सानी र फर्सी उत्पादन हुन्छन्।

उनी भन्छन्, ‘शिक्षण पेसामा नौ वर्ष बिताएँ। त्यसपछि त्यो पेसा छाडेर खेतीपाती मात्र गरिरहेको छु।’ कृषिमा केही गर्छु र गर्नुपर्छ भनेर शिक्षण पेसा छोडेको उनी बताउँछन्। खेतीपाती गर्ने विधिमा केही मात्र परिवर्तन आए पनि आधुनिकता भित्र्याउन नसकेको उनको गुनासो छ। ‘२०६२ मा आईपीएम तालिम लिएपछि व्यावसायिक रूपमै कृषिमा लागेको हुँ। सो वर्षदेखि शिक्षण पेसा पनि छाडेँ। शिक्षकको जागिर छाड्दा धेरैले अब तँ सकिइस् भनेका थिए’, उनले भने।

हुमनाथले आफ्नो फार्ममा उत्पादन गरेको कृषि सामग्री स्थानीय बजार र पोखरामा व्यापार गर्दै आएका छन्। फार्मबाट वार्षिक १४-१५ लाखको कृषि सामग्री उत्पादन भई बजारमा पुग्छ। यसबाट सबै खर्च कटाएर ८ लाखजति बचत हुने गरेको लामिछानेले जानकारी दिए।

फार्ममा मौसमी तरकारीसँगै पाँच सय ५० बोट सुन्तला, तीन सय बोट कफी, १८ घार माहुरी छ। मलका लागि उनले  गँड्यौला पनि पालेका छन्। यसबाट उत्पादित मल  आफ्नै तरकारी बारीमा प्रयोग गर्छन्। अनि केही मात्र किसानलाई बाँड्ने गरेको उनले बताए।

उनले भने, ‘गँड्यौलाबाट उत्पादित मलले तरकारी राम्रो उत्पादन हुन्छ र माटो पनि राम्रो हुन्छ।’ उनको फार्ममा वार्षिक ४५ क्विटलभन्दा बढी मौसमी तरकारी उत्पादन हुन्छ। उनले सुन्तला र महसमेत उत्पादन गरी बिक्री गर्दै आएका छन्। वार्षिक २-३ लाखभन्दा बढीको मह र सुन्तला बिक्री हुने गरेको उनले जानकारी दिए।

कृषि पेसाले आत्मसम्मान दिएको उनले बताए। उनले भने, ‘कृषि कर्मप्रतिको लगाव, निरन्तरता, प्रयोग र अभ्यासले किसान भएजस्तो अनुभव भइरहेको छ।’

लामिछानेले उत्पादन गरेको तरकारीको मूल्य आफैँले निर्धारण गरेर बिक्री गर्दै आएका छन्। नेपालमा सबैभन्दा स्वाभिमान पेसा कृषि हो। आफैँले उत्पादन गरेपछि स्वच्छ  र  ताजा तरकारी खान पाइने लामिछाने बताउँछन्। उनको पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट थलो बनेको छ। उनीकहाँ स्याङ्जा र आसपास जिल्लाका किसान खेतीपातीबारे अध्ययन र काम सिक्न आउने गरेका छन्।

लामिछानेले छोरा सन्तोषलाई पनि कृषि पेसामै स्थापित गराउने उद्देश्यले हरेक काम सिकाइरहेको जानकारी दिए। बीबीएस अध्ययन सकेका छोरालाई पनि कृषि सिकाइरहेको उनले बताए। ‘सरकारले कृषि पेसालाई व्यावसायिक बनाउनुपर्छ। कृषि आयस्रोतको माध्यम भए वैदेशिक रोजगारीमा जाने युवा स्वदेशमै रोकिन्छ। सरकारले पनि यस्तो नीति लिनुपर्छ’, उनले भने।

युवा पलायन भइरहेको देख्दा उनलाई दुःख लाग्छ। आफ्नै ठाउँमा केही गर्न थाल्यो भने माटोमै सुन फलाउन सकिने लामिछानेको विश्वास छ। उनले भने, ‘इच्छाशक्ति भएर मेहेनत गर्दा स्वदेशमा जे गर्ने सकिन्छ। मलाई विदेशको भन्दा कुनै कमी छैन। आफ्नै देशको माटोमा धन फलाउन समस्या छैन।’

दाम, नाम र माम दिलाउने कृषि पेसालाई सरकारी कमजोर नीतिले ओझेलमा परेको हो। सरकारले कृषिलाई सामान्य रूपमा हेर्दा अहिलेको अवस्था आएको लामिछानेको आरोप छ।

खाडीका देशमा नेपाली युवाले ५०/५५ डिग्रीमा काम गर्न सक्छन्। तर आफ्नै देशमा श्रम र पेसालाई सम्मान गर्न नसकेकै कारण नेपालमा हरेक कुरामा पछि परेको लामिछाने बनाउँछन्। कृषि र किसानमैत्री नीतिमा किसानलाई अनुदान बाँडिन्छ। उनले सरकारी अनुदानको आस गरेका छैनन्। लामिछानेका अनुसार राजनीतिक स्वार्थका कारण उत्पादन घट्दो क्रममा छ। सरकारले अनुदानभन्दा कृषिमा प्राविधिक ज्ञान र व्यावहारिक तालिम दिए पुग्ने उनको भनाइ छ।

प्रकाशित: २८ कार्तिक २०८१ १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast