सहकारी ठगी प्रकरण : जोशीसमेतलाई सम्पत्ति शुद्धीकरणको मुद्दा!

हिमाल प्रेस २५ कार्तिक २०८१ १७:२८
18
SHARES
सहकारी ठगी प्रकरण : जोशीसमेतलाई सम्पत्ति शुद्धीकरणको मुद्दा! राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतबाट प्रहरी कार्यालयतर्फ लगिँदै। तस्बिर : हिमालप्रेस

पोखरा- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले आइतबार थप १३ दिनको म्याद दिएको छ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेसहित ४ जनालाई अनुसन्धान गर्न कास्की प्रहरीलाई थप १३ दिनको म्याद अनुमति दिएको हो। जसमा पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीबीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लीला पछाईलाई १३ दिन दिनको म्याद थप भएको हो। यो हिसाबले अब उनीहरू ७ मंसिरसम्म हिरासतमा रहनेछन्।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई चौथोपल्ट म्याद थपका लागि आइतबार अदालत उपस्थित गराइएको थियो। यसअघि, उनलाई पहिलोपटक ६, दोस्रोपटक ७ दिन र तेस्रोपटक १० दिनको म्याद थप भएको थियो।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। लामिछानेमाथि गोर्खा मिडियामा प्रबन्धनिर्देशक हुँदा सूर्यदर्शन सहकारीलगायतको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोग छ।

लामिछानेका तर्फबाट आइतबार वरिष्ठ अधिवक्ताहरू मेघराज घिमिरे, सुशील पन्त र नारायण घिमिरे तथा अधिवक्ता रेनुका सिटौलाले बहस गरेका थिए। जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए।

जाहेरवाला कृष्णराज जैसीको तर्फबाट अधिवक्ता युवराज पराजुलीले बहस गरेका थिए। सहकारीपीडितका तर्फबाट सरकारी वकिलहरूसहित अधिवक्ता वेदबहादुर (बीबी) बिष्टले बहस गरेका थिए।

गोर्खा मिडियाका पूर्वउपाध्यक्षसमेत रहेका पूर्वडीआईजी जोशीलाई आइतबार अदालत उपस्थित गराउँदा पटकपटक गरी ५२ दिनको म्याद पूरा भइसकेको थियो। संगठित अपराधमा ६० दिनभित्र अभियोजन गरिसक्नुपर्नेछ। आइतबारको आदेशले थप १३ दिनको म्याद थप भएबाट उनलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने सम्भावना प्रबल देखिएको कानुन व्यवसायीले बताएका छन्।

पीडितका तर्फबाट आइतबार बहस गरेका अधिवक्ता बिष्ट भन्छन्, ‘जोशीका हकमा ६० दिन कटिसक्दासम्म अभियोजन नहुँदा सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर हुने सम्भावना देख्छु।’ यस हिसाबले सहकारीपीडितले भने आफ्नो रकम फिर्ता पाउने सम्भावना कमै रहेको उनको भनाइ छ।

रास्वपाका कार्यकर्ताले भने लामिछानेको रिहाइको माग गर्दै पोखराको महेन्द्रपुल क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए। पोखराको सहिदचोक तथा गैह्रापाटन क्षेत्रमा निषेध आदेश कायम भएकाले सर्वसाधारणलाई त्यस क्षेत्रमा हिँडडुल गर्नसमेत रोक लगाइएको थियो।

रविसमेतलाई अदालतबाट जिल्ला प्रहरी कार्यालयमा लगिने बेलामा रास्वपाका कार्यकर्ताले विरोध प्रदर्शन गर्ने आकलनमा प्रहरीले सिधा बाटो नलगी लेकसाइडबाट घुमाएर लगेको छ।

प्रकाशित: २५ कार्तिक २०८१ १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast